setoveda logo
४ वैशाख २०८३, शुक्रवार

संगीतबाट निभ्यो एउटा आशा

चैत ३०, २०८२, सोमवार
आशा भोसले

आशा भोसले

चैत ३० गते । ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’

सुप्रसिद्ध गायिका आशा भोसलेले साढे तीन दशकअघि सदाबहार ‘चिनो’ स्वरूप गाएकी थिइन् यो गीत । गीतमा गाउँलेको बोलीले मोहनी लगाए पनि, असलमा उनकै गायकीले नेपालीहरूलाई गहिरो मोहनी लगाएको थियो । वर्षौंदेखि मोहनी लगाएको आशाको मखमली आवाजले अब कहिल्यै गीत गुन्गुनाउने छैन ।

९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनले भौतिक शरीर बिसाइन् । ‘मल्टी–अर्गान फेलियर’ भएका कारण उनको निधन भएको अस्पतालले पुष्टि गर्‍यो । आशाको निधनले भारतीय मात्र नभई नेपाली सांगीतिक क्षेत्र पनि यतिबेला स्तब्ध बनेको छ । निर्देशक तथा गीतकार यादव खरेल आशाको निधनको खबरले शोकमा छन् । ‘असाध्यै दुःख लागिरहेको छ,’ खरेल आशालाई श्रद्धाञ्जली प्रकट गर्दै भन्छन् । खरेलले निर्देशन गरेको फिल्म ‘प्रेम पिण्ड’ मा आशाले गाएको ‘गैह्री खेतको शिरै हान्यो।।।’ कालजयी बन्यो ।

समयअनुसार गीत र त्यसका स्वादमा परिवर्तन आउँछन् । तर आशाका आवाजलाई हर नयाँ पुस्ताले पछ्याइरहन्छ । यादव ‘प्रेम पिण्ड’ताका गीत रेकर्डिङ गर्दा आशासँग भएको भेटबारे स्मरण गर्छन्, ‘उहाँ एकदमै सरल र भलादमी स्वभावकी हुनुहुन्थ्यो । काम गर्दा पैसाको कुनै बार्गेनिङ गर्नुभएन ।’ आशा स्टुडियो आएपछि संगीतको नोटेसन हेरेर नेपाली शब्दहरूमा निकै मिहिनेतका साथ गाएको सङ्लो स्मृति यादवसँग छ । मुम्बईमा रेकर्डिङ गर्दाताका यादवले फोनमा आशालाई भनेका थिए, ‘हजुरले मेरो गीत गाइदिनुपर्‍यो ।’ आशा तुरुन्तै तयार भएकी थिइन् । ‘नोटेसनहरू सबै तयार पारेर राखेपछि तोकिएको समय र स्टुडियोमा आएर उहाँले गीत गाउनुहुन्थ्यो,’ यादवले आशासँग मात्र नभई मंगेशकर परिवारका तीनै दिदीबहिनीहरू ९लता, आशा र उषा० को गायनमा अलग रेकर्ड रहेको सम्झन्छन् । आशाले दर्जन बढी नेपाली गीत गाएकी छन् ।

झन्डै ६० वर्षअघि प्रदर्शनमा आएको बीएस थापा निर्देशित ‘माइतीघर’ को किरण खरेलको रचना ‘बसन्त नै बस्न खोज्छ यहाँ’ मा जयदेवको संगीतमा स्वर दिएकी आशाले त्यसपछि तुलसी घिमिरे निर्देशित ‘बाँसुरी’ को ‘झझल्को लिएर आएछ सावन।।।’ र मिरमिरे साँझमा सिमसिमे पानी।।।’, ‘एउटा मान्छे मन पर्छ’, किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘दियो बाली साँझको’, ‘आज हाम्रो भेट भाको दिन’ सहित दुई दर्जन नेपाली फिल्ममा गाएकी छन् । ‘कन्यादान’ को ‘यति धेरै माया दियौ’, ‘लाहुरे’ को ‘माया त माया हो’ होस् वा पछिल्लो पटक उनले गाएको नेपाली फिल्म ‘करोडपति’ को ‘चञ्चल हावा’ गीत नै, आजसम्म पनि उत्तिकै गुञ्जायमान छन् ।

संगीतकार शम्भुजित बाँस्कोटाले आशासँग ‘चेलीबेटी’ फिल्मको ‘एउटा मान्छे मनपर्छ’ र ‘तिम्रो आँखाको सागरमा’, ‘प्रेम पिण्ड’को ‘गैह्रीखेतको शिरै हान्यो’ र ‘करोडपति’को ‘चञ्चल हावा’ गरी चार गीतमा सहकार्य गरेका थिए । आफू संगीतकार हुनुको आभास यी क्षणहरूले गराएको सम्झिन्छन् उनी । शम्भुजितलाई असाध्यै स्नेह गर्थिन् आशा । उनी आशालाई ‘सरस्वतीको अवतार’ र ‘देवी’ को संज्ञा दिँदै भन्छन्, ‘मलाई जहिल्यै भाइजस्तो माया गर्नुभयो उहाँले ।’

भोसलेलाई उनले पहिलो पटक २०४४र४५ सालतिर काठमाडौंको विशाल बजारमा सपिङ गरिरहेको अवस्थामा भेटेका थिए । भेटमा शम्भुजितले उनीसँग परिचय गरेका थिए । त्यो परिचय त्यसपछि बिस्तारै आत्मीयतामा बदलिँदै गयो । ‘ठूला गायकहरूले मान्छेलाई घरमा नबोलाउने र स्टुडियोमै आएर काम सिक्ने गर्थे । तर दिदीले मलाई घरमै बोलाएर ‘चेलीबेटी’ र ‘प्रेम पिण्ड’का गीतहरू गाउन सिक्नुभएको थियो,’ बाँस्कोटा भन्छन् । आशाको शिरदेखि पाउसम्म संगीत भएको महसुस गर्थे शम्भुजित । ‘उहाँलाई हेर्दा एक प्रकारको स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो,’ उनी सम्झन्छन् ।

पछिल्लो केही वर्षअघि नेपालमा साधना कलाको कार्यक्रमका सिलसिलामा भेट्दा पनि आशाले शम्भुजितलाई हार्दिकताका साथ सोधेकी थिइन्, ‘कहिले बम्बई आउने रु’ उनले छिट्टै आउने वाचा गरेका थिए । आशाले शम्भुजितसँग कामबारे चासोसमेत राखेकी थिइन् त्यतिबेला । बाँस्कोटाका लागि आशासँगको सहकार्य र आवाज एउटा आशीर्वाद जस्तो लाग्छ । ‘यो त मेरा लागि एउटा प्रसादसरह हो, जसलाई कहिल्यै बिर्सन सक्दिनँ,’ उनी श्रद्धाभावमा भन्छन् ।

संगीतको सिंगो युग स्वरको जादुले सजाएकी आशाको जीवन कम संघर्षपूर्ण थिएन । सन् १९३३ मा सांगीतिक माहोलमा जन्मिएकी आशाका लागि संगीत रहर मात्र थिएन । परिवारको विरासत नै थियो । बा पण्डित दीनानाथ मंगेशकरको असामयिक निधनपछि परिवारको आर्थिक भार सम्हाल्न उनी सानै उमेरमा मुम्बईको गल्लीहरूमा काम खोज्न बाध्य भइन् । दिदी लता मंगेशकर प्रसिद्ध गायिका थिइन् । दिदीको प्रसिद्धिको छायामा आफूलाई बेग्लै उभ्याउन निकै कठिन थियो । सुरुवाती दिनमा उनले त्यस्ता गीतहरू गाउनुपर्थ्यो, जुन अरू चर्चित गायिकाहरूले ‘दोस्रो दर्जा’ को ठानेर छोडिदिन्थे । ‘म सधैं अर्को किनारमा उभिएर नदी हेर्थें र सोच्थें कि यदि मलाई गहिरो पानीमा फालियो भने पनि पौडिएर बाहिर निस्कनेछु,’ उनले विभिन्न सन्दर्भमा यो प्रसँग कोट्याउँथिन् । E-kantipur