प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा बनेको नयाँ सरकारले १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक । तस्बिरः अनलाइनखबर
चैत ३० गते । वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदधारण गर्ने व्यक्तिको सम्पत्ति पारदर्शी हुनुपर्ने माग हुँदै आएपनि विगत बनेका केही सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सरकारलाई बुझाएका मात्र थिए सार्वजनिक गरेका थिएनन् ।रास्वपाले चुनावी वाचापत्रमै सार्वजनिक पद धारण गर्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता गरेको थियो ।
सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीमा २०४७ सालपछिको सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने निर्णय समेत गरेको छ । पहिले पदमा बसेकाहरूको सम्पत्ति समेत सार्वजनिक गर्ने सरकारको निर्णय रहेकाले उनीहरुले विवरण बुझाएर सार्वजनिक गरेका हुन् ।
भ्रष्टाचार निवारण ऐजमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । तर यसरी बुझाएको विवरण सार्वजनिक गर्नैपर्ने कानुनी बाध्यता छैन । त्यसैले विवगतका धेरै वटा मन्त्रिपरिषद्ले विवरण बुझ्ने तर सार्वजनिक गर्न हिच्किचाउँथे ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूको पनि विवरण सार्वजनिक भएको थिएन । आइतबार सार्वजनिक भएका मन्त्रीहरूका सम्पत्ति विवरण हेर्दा अधिकांश मन्त्रीहरूको आर्थिक अवस्था उच्च र केहीको मध्यम देखिएको छ । घरजग्गा, शेयर, सुनचाँदी गरगहनादेखि पशुधनसमेतको विवरण उनीहरूले सार्वजनिक गरेका छन् । यी विवरण हेर्दा मन्त्रिपरिषद्का सदस्यहरूको व्यक्ति र पारिवारिक आर्थिक अवस्था उन्नत देखिन्छ ।