वैशाख २२ गते । काभ्रेको रोशी खोलामा पानीको बहाव बढेसँगै घुमाउनेमा फसेका ८९ जना यात्रुको उद्धार गरिएको छ । साथै फसेका ५ वटा गाडीलाई सुरक्षित ठाउँमा सारिएको छ । हिजो पानी परेपछि रोशी गाउँपालिका–७ घुमाउनेमा ८९ जना यात्रु तथा ५ वटा गाडी फसेकोमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको नेपाल प्रहरीले जनाएको छ । हिजोदेखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेको छैन ।
तस्बिरः नेपाल प्रहरी
हिजो बेलुका ५ बजेदेखि आवागमन बन्द गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका कटुञ्जेको चौकी डाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडक खण्डमा आवागमन बन्द गरिएको हो । वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले गाडी सञ्चालनमा रोक लगाएको प्रहरीको भनाइ छ । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ । अर्को सूचना नआएसम्म यो खण्डमा यात्रा नगर्न अपिल गरिएको छ ।
वर्षाका कारण पटक पटक रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिकाको चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्मको विभिन्न ठाउँमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको छ । राजमार्ग अवरुद्ध भएपछि गाडीलाई राजमार्गको प्रवेश मार्ग धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा रोकेर राखेको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।