वैशाख २२ गते । अमेरिकाले नौसैनिक अभियान शुरु गरेपछि खाडी क्षेत्रमा तनाव बढेको छ । युएईको सरकारी तेल ट्यांकरमा आक्रमण भएको छ । युएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । फुजैराह तेल बन्दरगाहमा भएको आक्रमणबाट ठूलो आगलागी भएको र तीन जना घाइते भएका छन् ।
गेटी इमेजेज
युएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको छ । अमेरिका–इरान युद्धविरामपछि पहिलो पटक युएईमा ‘मिसाइल अलर्ट’ बजेको छ । अहिले अवस्था सुरक्षित रहेको र स्थानीय बासिन्दाले सामान्य गतिविधि गर्न सक्ने भनिएको छ । युएईमा पछिल्लो आक्रमण इरानले गरेको आशङ्का गरिएको छ । तर इरानले युएईलाई निशाना बनाउने कुनै योजना नभएको जनाएको छ । इरानले होर्मुज जलमार्गमा देखिने कुनै पनि सैन्य जहाजलाई निशाना बनाइने चेतावनी दिँदै आएको छ ।