setoveda logo
२७ असोज २०८३, मङ्गलवार

पैसा नभएको भन्दै अस्पतालले भर्ना नलिएको आरोप, फुटपाथमै बबिताले जन्माइन् बच्चा

भदौ २५, २०८३, बिहिवार
सुत्केरी सप्तरीको राजविराज नगरपालिका-१४ की ३५ वर्षीया बबिताकुमारी पासवान

सुत्केरी सप्तरीको राजविराज नगरपालिका-१४ की ३५ वर्षीया बबिताकुमारी पासवान

भदौ २५ गते । मधुरो उज्यालो छ !

फुटपाथको कुनामा सुत्केरी व्यथाले छट्पट्टाइरहेकी हुन्छिन्। अर्की महिलाले उनकै छेउमा बसेर स्याहारसुसार गरिरहेको देखिन्छ। आसपासका दुई जना व्यक्तिहरूले उनीहरूलाई हेरिरहेका हुन्छन्। उक्त दृश्य अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको भिडिओको हो। भिडिओ सार्वजनिक भएसँगै मानवीयतामाथि नै प्रश्न उठ्न थालेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पैसा नभएकै कारण फुटपाथमा बच्चा जन्माउनुपरेको भन्दै सरकारको चर्को आलोचना गरिरहेका छन् भने कतिले अस्पतालको लापरबाहीमाथि प्रश्न उठाएका छन्। उक्त भिडिओमा देखिएकी महिला को हुन् र किन फुटपाथमा बच्चा जन्माउन बाध्य भइन् भन्ने बारेमा हामीले उनीसँग कुराकानी गरेका छौं। भिडिओमा देखिएकी सुत्केरी सप्तरीको राजविराज नगरपालिका-१४ की ३५ वर्षीया बबिताकुमारी पासवान हुन्।

उनीसँगै देखिएकी अर्की महिला नाताले सासू पर्छिन्। उक्त भिडिओ बुधबार राति २ बजेको हो। सुत्केरी व्यथाले च्यापेपछि श्रीमान हरेराम पासवान र सासू सहित बबिता मंगलबार राति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पताल पुगेपछि उनलाई चिकित्सकहरूले चेकजाँच सहित केही परीक्षण गर्न भनेको बबिता बताउँछिन्। परीक्षणका लागि ३ हजार रूपैयाँभन्दा बढी जम्मा गर्नुपर्ने भनियो। तर हामीसँग पैसा थिएन,उनले भनिन्, पैसा छैन भनेर भन्यौं। उहाँहरूले मान्नु भएन।

तत्काल आफूलाई गाह्रो भएको र अहिले भर्ना गरेर उपचार गर्न आफूले आग्रह गरे पनि अस्पताल नमानेको उनी बताउँछिन्। उनका अनुसार बुधबार बिहान पैसा भएपछि बुझाउने र अहिले उपचार गर्न भनेकी थिइन्। पहिला जाँच गराएपछि मात्र भर्ना गर्ने भन्नुभयो, बबिताले भनिन्, पैसा बुझाएर चेक नभएसम्म उपचार हुँदैन भन्नुभयो।गर्भ परीक्षणका लागि पैसा नभएपछि अस्पतालबाट बाहिर निस्किन भनियो। आफूहरूसँग पैसा नभएकाले बाहिर निस्किएको उनी बताउँछिन्। अस्पतालबाट भर्ना नलिएपछि बाहिर एक औषधि पसलमा समेत आफूले चेकजाँच गर्न भनेको उनी सम्झिन्छन्।

त्यहाँ बसिरहे बिहान चेक गरिदिन्छु भन्नुभएको थियो, उनले भनिन्, त्यहाँ बस्दाबस्दै सुत्केरी व्यथाले च्याप्यो। फुटपाथमा बसिरहँदा व्यथाले च्यापेपछि उनीसँग अस्पताल पुगेका सासू सहितले उनको सुत्केरी हुने प्रक्रियालाई सहयोग पुर्‍याए। बबिताले फुटपाथमा बिहान साढे ४ बजेतिर एक बच्चालाई जन्म दिइन्। उनले यसअघि पनि तीन जना बच्चा जन्माइसकेकी थिइन्। यसअघि आफूले कुनै पनि चेकजाँच नगरी बच्चा जन्माएको उनी बताउँछिन्। बच्चा जन्माएपछि पुनस् अस्पतालमा गएको तर आफूहरूलाई त्यहाँ बस्न नदिएको उनीहरूको गुनासो छ। Setopati