ताप्लेजुङमा गुरुङ समुदायको ‘सर्बें म्रु’ प्रदर्शनपूर्व तस्बिर खिच्दै कलाकार टोली ।
जेठ १ गते । गुरुङ समुदायको भाषा,धर्म,संस्कार र संस्कृतिसँग जोडिएको ‘सर्बें म्रु’ अर्थात ‘मनको राजा’ सदरमुकाम फुङलिङमा शुक्रबार र शनिबार प्रदर्शन हुँदैछ । शुक्रबार बेलुकी ४ः३० बजेदेखि सुरु भएको थियो । शनिबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । ताप्लेजुङ स्र्पोटिङ क्लबका अध्यक्ष मणिराज गुरुङ र निङ्मा छ्योखोरलिङ गुम्बाका प्रमूख लामा दीपक गुरुङले कलाकारसँग समन्वय गरेको हो । ‘लामा अमृत फाउन्डेशन घान्द्रुकका संस्थापक’ अमृत गुरुङसहित कलाकारको टोलीले दर्शकसँगै बसेर फिल्म हेरेर मज्जा लिए । ब्रेज मेश्रो फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मका कलाकारलाई तमू ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला अध्यक्ष गंगाराम गुरुङ, तमूस्यो महिला छोंज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला अध्यक्ष जीवन कुमारी गुरुङ लगायत अग्रजहरुले कलाकारलाई स्वागत गरे ।
ताप्लेजुङमा गुरुङ समुदायको ‘सर्बें म्रु’ प्रदर्शन<br>
होटल पाथीभराको हलमा आयोजित कार्यक्रममा स्वागत ग्रहणपश्चात कलाकार अमृत गुरुङले भने,‘पूर्व र पश्चिमका गुरुङ समुदायलाई जोड्न खोजेका छौ । यहाँ आएर संस्कार आदान प्रदान गर्ने मौका मिल्यो । साह्रै खूसी छौ ।’ फिल्मका निर्देशक तथा कथा लेखनको जिम्मेवारी पाएका सोम गुरुङ,नायिका लक्ष्मी गुरुङ र प्रिती गुरुङले ताप्लेजुङ आउँदा घरमै पुगेको आभास भएको बताए । सोमले थुप्रै गुरुङ फिल्ममा निर्देशन गरेका छन् । लक्ष्मी गुरुङले दर्जनौ लोकदोहोरी गीतको म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुरुङ समुदायको बसोबास छ । तर भाषा,धर्म,संस्कार र संस्कृति तथा रहनसहन ठाउँअनुसार केही मात्रामा फरक छ । फिल्म हेर्नका लागि टिकट ५ सयदेखि १० हजारसम्म छ । ताप्लेजुङ स्र्पोटिङ क्लबका अध्यक्ष मणिराज गुरुङले इच्छाअनुसार टिकटको मूल्य लिएको छ । गुरुङले भने,‘लाखौ रुपैयाँ खर्चिएर बनेको फिल्म हेर्न थोरै पैसा टिकटबाट लिएका हौ । इच्छाअनुसार आर्र्थिक सहयोग दिनेको ग्रहण गरेका हौं ।’ घान्द्रुक पर्यटकीयस्थल हो । माछापुच्छ्रेको अवलोकन गर्दै रमाउने घान्द्रुकमै फिल्मको सुटिङ गरिएको छ ।