सानिमा मिडल तमोर हाइड्रोपावरले ताप्लेजुङमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर
ताप्लेजुङ, वैशाख २२ गते । सानिमा मिडल तमोर हाइड्रोपावरले ताप्लेजुङमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९ सय ६ जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकास्थित चाँगे र मिक्वाखोला गाउँपालिका २ स्थित जलविद्युतको विद्युत गृहमा आयोजित शिविरमा उक्त सङ्ख्यामा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको हो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्र, ताप्लेजुङ्गको प्राविधिक सहयोगमा आयोजित शिविरको पहिलो दिन चाँगेमा ४ सय १७ नागरिकले सेवा लिएको जलविद्युत आयोजनाका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरको दोश्रो दिन जलविद्युतको विद्युत गृहमा सञ्चालित शिविरमा ४ सय ८९ जना नागरिकले सेवा लिएका छन् । दुई दिने शिविरमा जनरल स्वास्थ्य जाँच, मिर्गौैला रोग, युरोलोजी, कार्डियोलोजी, स्त्री तथा प्रसुती रोग, आँखा जाँच, भिडियो एक्स्रे, इ।जि।जि, इको, ल्याब परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको आयोजनाले जनाएको छ ।
सानिमा मिडल तमोर हाइड्रोपावरले ताप्लेजुङमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९ सय ६ जना नागरिकको स्वास्थ्य परीक्षण
२ सय ४७ जनाको भिडियो एक्स्रे गर्दा ७४ जना नागरिकको कलेजोमा बोसो जमेको परेको थियो भने १४ जनामा हेपाटोमेगालि देखिएको चिकित्सकले जनाएको गौतमले जानकारी दिनुभयो । त्यस्तै १७ जनाको मिर्गौलामा पानीको फोका र पत्थरी देखा परेको छ । परीक्षणको क्रममा १ सय ३३ जनाको इसिजि गर्दा ४ जनामा समस्या भएको थियो भने १ सय ३६ जनाको मुटुको इको परीक्षण गर्दा २८ जनामा समस्या देखिएको बताइएको छ । स्वास्थ्य शिविरमा सबै भन्दा धेरै पेटको समस्या, उच्च रक्तचाप, कलेजोको रोग, बाथ रोग मधुमेह र दमको रोग देखिएको थियो ।
८४ जनाको स्त्री तथा प्रसुती रोग परीक्षण गर्दा ३७ जनामा पाठेघरको सङ्क्रमणको समस्या देखिएको गौतमले जानकारी दिनुभयो । ८ सय ३९ जनाको ल्याब परीक्षण गर्दा २७ जनाको पिसाबमा प्रोटिन चुहावट भएको र २५ जनाको पिसाबमा सुगर देखिएको थियो । स्वास्थ्य परीक्षण पश्चात सम्बन्घित रोग पत्ता लागेकाहरूलाई निःशुल्क औषधि वितरण गरिएको आयोजनाले जनाएको छ । त्यस्तै शिविरमा ४ सय २५ जनाले आँखाको जाँच गराएका छन् । परीक्षण गरिएकोमध्ये २० जनाको मोतिबिन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएका चिकित्सकको भनाइ छ । यस्तै २ सय ७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको बताइएको छ । शिविरमार्फत ६ जनाले मृत्यु पश्चात अङ्गदान गर्ने समेत प्रतिबद्धता जनाएको बताइएको छ । आयोजनाले प्रभावित जिल्लाका नागरिकको सेवाका लागि गत वैशाख १८ र १९ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।