तिब्बतको ल्हेन्दे खोला हुँदै मंगलबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढी (बायाँ) । र, बाढीले डुबानमा परेका सवारी साधन तथा भौतिक संरचना । ई कान्तिपुर
असार २६ गते । तिब्बतको ल्हेन्दे खोलामा मंगलबार आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि भएको विध्वंसले ठूलो जनधनको क्षति भएको छ । तर बाढीको कारण यकिन हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागले चीन तथा नेपाल सीमाका उच्च हिमाली क्षेत्रमा बादल लागिरहेका कारण भूउपग्रहको सहायताबाट विश्लेषण गर्न खोजे पनि सम्भव नभएको बताएको छ ।
भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएपछि त्यसको कारण खोज्न विभाग लागिपरेको हो । सोमबारदेखि मंगलबारसम्म २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको छ ।
‘भारी वर्षाले बाढी आएको होइन, तर कारण के हो अध्ययन गरिरहेका छौं,’ विभागका बाढीविद् विनोद पराजुली भन्छन्, ‘तत्काल बाढी गएकै स्थानमा गएर अध्ययन गर्न सम्भव छैन, भूउपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो, तर त्यस क्षेत्रमा बादल लागेकाले समस्या भएको छ ।’ चीन तथा नेपालको भूभागमा रहेको कुनै हिमताल फुटेको हुन सक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुन सक्ने उनको अनुमान छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको बताएको छ । इसिमोडले पनि ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीको कारण वर्षा नभएको जनाएको छ ।
‘बाढीको खास कारण पहिचान गर्न समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण होइन भन्ने प्रस्ट हुन्छ । भूउपग्रहबाट अध्ययन गर्न खोजिरहेका छौं, तर बादल लागेकाले सम्भव भएको छैन,’ इसिमोडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञलगायत सहभागी बहुक्षेत्रीय टोलीले बाढीको वास्तविक कारण अनुसन्धान गर्नु आवश्यक छ ।’
इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डंगोल प्रारम्भिक अनुमान हिमताल फुटेको हुन सक्ने बताउँछन् । ‘तर यसको ठोस प्रमाण भने फेला परेको छैन,’ उनी भन्छन्, ‘इसिमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बतस्थित त्रिशूली नदीभन्दा माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो । सन् १९९० देखि २०२० सम्म त्रिशूली नदीको जलाधार क्षेत्रमा हिमतालको आकार बढेको छ । बाढीअघि लिइएका उपग्रह चित्रमा पनि हिमतालको संख्या बढेको देखिन्छ, तर हाल बादल लागेकाले भूउपग्रह विश्लेषणमा अवरोध पुगेको छ ।’ पहाडी क्षेत्रमा जोखिम कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न झन्झन् कठिन हुँदै गइरहेको उनी बताउँछन् । ‘सधैं भारी वर्षाले मात्र बाढी ल्याउँछ भन्ने हुँदैन, कहिलेकाहीं त्यो एक्लो कारण पनि हुँदैन,’ उनी भन्छन्, ‘यसलाई ध्यानमा राखेर राहत, पुनर्निर्माण तथा पूर्वतयारी योजना बनाइनुपर्छ ।’
-ई कान्तिपुर