फागुन ५ गते । हेर्नुहोस त ! पाथीजस्तै डाँडामा अवस्थित, पाथीभरा माताको तस्बिर । कति सुन्दर छ । दुर्भाग्य ! यति सुन्दर अनि पवित्र पाथीभरा (मुक्कुमलुङ) यतिबेला शान्त छ भनौ, या अशान्त । पाथीभराको काखमा (काफ्लेपाटी-बलुडाँडा) कहिले बन्दुकको गोली पडकन्छ । कहिले मुर्दावाद, कहिले जिन्दाबादको नारा घन्कन्छ । चिर्रविर्र चिर्रविर्र चराचुरुङीको आवाज सुन्ने ठाउँमा कहिलेकाही हातहतियार र मानिसको चर्को आवाजले गुन्जन थालेको छ । दर्शनार्थीको आवतजावत न्यून छ । पाथीभरा क्षेत्र विकास समितिको तथ्यांकअनुसार माघ महिनामा ४ हजार २ सय ४९ जना दर्शनार्थीले मात्र दर्शन गरे । लाग्छ, प्रकृती एक्लै छ ।
माघ १७ गते पाथीभरा सुनसान बन्यो । त्यो दिन एक जना पनि दर्शनार्थी आएनन् । किनकी माघ १५–२२ गतेसम्म नो केबलकार समूहले यातायात बन्दको आव्हान गरेको थियो । पुजारी टीकाराम पौडेलले भने,‘त्यो दिन हाम्रो पनि मन अड्याउन गाह्रो भयो । किनकी कर्मचारी मात्र भएको तर दर्शनार्थी नआएको रेकर्ड रह्यो ।’ सहज अवस्था भएको थियो भने यो बेला उकालो ओरालो गर्ने कैयौ दर्शनार्थी भेटिन्थ्यो । दर्शनार्थी बोकेका श्रमजीविहरु प्रशस्तै हुन्थे । बजारदेखि ठूलोफेदिका होटलमा व्यस्तता बढ्न सुरु हुन्थ्यो । सवारी साधनले काफ्लेपाटीको पार्किङमा जाम हुन्थ्यो ।
चैत बैसाखमा रताम्मे फुल्ने गुँरास । चाँदीझै टल्कने हिमाल । चट्टाने पहाड । सङ्लिएको तमोर । त्यही तमोर नदिको पारी देखिने चिलपखेटा आकारको घर । अनि कहिलेकाही भेटिने दुर्लभ रेडपान्डा । यात्राका क्रममा देखिने यी रमणीय दृश्य अवलोकनबाट जो कोही बञ्चित हुन सक्ने पीर बढेको छ । किनकी कहिले यातायात बन्द हुन्छ । कहिले नाराजुलुस र होहल्ला । विवाद समाधान नभएसम्म दर्शनार्थीको रुचीमा पर्ला वा नपर्ला । थाहा छैन् । किनकी डर लुकाउने ठाउँ नहुँदोरैछ । यो सन्देशले त्रसित बनाउन खोजेको पटक्कै होइन् । अवस्था जे छ, त्यही भनेका हौ । प्रविधिको युग हो । यहाँ के भइरहेको छ । आखिर, क्षणभरमै सामाजिक सञ्जालबाट विश्वभर थाहा भैहाल्छ । संक्षेपमा भनौ,दर्शनार्थीको खूसी नखोसियोस । दर्शनार्थीले निस्फिक्री दर्शन गर्न सकुन् ।
पाथीभरा दर्शनमा आएकी पुरातत्व विभागमा कार्यरत परियोजना प्रमूख जयन्ती श्रेष्ठले भनिन्,‘पाथीभरालाई प्रारम्भमा जस्तो थियो । त्यस्तै राख्न सकौ । ताकी संरचना निर्माणमा पनि परम्परागत सामाग्री प्रयोग गरौ ।’ प्राचिनतालाई असर नपुग्नेगरि संरचना निर्माणमा ध्यान दिनुपर्छ । श्रेष्ठले भनिन्,‘पुरातात्विक नम्स अनुसार काम गरौ । आर्गनिक क्षेत्र हाम्रो सम्पत्ति हो ।’ बन्दका बेला दर्शन गर्न आएका कतिपय दर्शनार्थीले सास्ती खेप्नुपर्यो । तीमध्येका एक हुन,अनिल मण्डल । उनी पेसाले प्राविधिक समेत हुन् । मण्डलले भने,‘केबलकारको पक्ष र विपक्षका कारण दर्शनार्थीले सास्ती खेप्न नपरोस् । दर्शन गर्ने दर्शनार्थीको खूसी नखोसियोस् ।’ दर्शनार्थीको कुरा झट्ट सुन्दा सामान्य लाग्छ । तर जति बुझ्दै गयो उति नै गहिरो छ । किनकी अतिथि देवो भवः अर्थात पर्यटक हाम्रा पाहुना हुन् । पाहुनाले नै चित्त दुखाएर फर्के भने के को पर्यटन ? तसर्थ संवेदनशिल बनौ ।
दर्शनमा आउन चाहनेहरु यतिबेला कन्फ्युजमा छन् । दर्शनार्थीले यो बेला दर्शन गर्न आउँदा समस्या होला कि नहोला भनि सोधेको खण्डमा जवाफ दिन अरुबेला जस्तो सहज छैन् । किनकी केबलकार बनाउने बनाउनमा व्यस्त छन् । केबलकारको विपक्षमा रहेकाहरु चरणबद्ध आन्दोलनमा छन् । दुवैको आ आफ्नो अडान छ । अडानकै कारण कुनै बेला अप्रिय घटना नहोला भन्न कदापि सकिन्न । किनकी सामान्य विषयमा विवाद हुँदा पनि सडक बन्द भएका विगतका कैयौ घटनाले अझै पनि झस्काउँछ ।
आन्दोलनरत पक्षले फागुन ६ देखि ८ गतेसम्म पाथीभरा मुक्कुमलुङ क्षेत्रमा पैदल यात्राको कार्यक्रम तय गरेको छ । फागुन ६ गते नै केबलकार पक्षले केबलकारको पक्षमा सदरमुकाममा र्याली आयोजना गरेको छ । उता केबलकार पक्षका पदमचेन्जी माबोलाई आइतबार सुनसरीमा नो केबलकार समूहले कालोमोसो दलेका छन् ।आन्दोलनरत पक्षलाई सुरक्षाकर्मीले गोली हानी घाइते बनाएकोमा उनीहरु चिढिएका छन् । एक अर्का विरुद्ध गर्ने हर्कतले समस्या समाधान होइन, समस्या चर्काउन मदत गरेको छ । अतः दुवै पक्ष संयम हुन जरुरी छ । पाथीभरामा पहिलेझै ढुक्कले दर्शन गर्न मिल्नेगरिको वातावरण तयार गर्ने दिन कहिले आउँला ? प्रतिक्षाको विषय बनेको छ ।
तस्बिर सौजन्यः पाथीभरा क्षेत्र विकास समिति