माघ १३ गते । पाथीभरास्थित बलुडाँडामा शनिबारको दोहोरो झडपले जोे कोहीलाई दुखी तुल्याएको छ । अब के हुन्छ भन्ने आम जिज्ञासा स्वभाविक हो । चौतर्फी चिन्ता छ । हो, अब के हुन्छ ? समयसँगै थाहा होला । तर एउटा कुरा साँचो हो, संवाद । दुनियाँमा भएका ठूला–ठूला विवाद संवादबाटै टुंगो लागेको छ । संवादमा गरिने सहमतिमा न हार हुन्छ, न त जित नै । संवादको महत्वबारे दुवै पक्ष जानकार छन् । आशा छ, दुवै पक्षले संयममता अपनाउनेछन् । संवादमा बस्नेछन् । र, निकास दिनेछन् पनि । दुवै पक्षलाई पाथीभरा माताले (मुक्कुमलुङ) अङ्गालो हालेर सहमति गर्न सक्नेगरि शक्ति प्रदान गरुन् । त्यो दुर्लभ दृश्य हेर्ने रहर पक्कै अधुरो हुने छैन् ।
धेरैको चासो छ, आखिर गोली नै चल्नेगरि शनिबार के भएको थियो । सुरक्षाकर्मी र नो केबलकार पक्षकासँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कुराकानी गर्यौ । ती कुराकानीमा आधारित रहेर सामाग्री तयार पारेका छौ । स्थलगत रुपमा पुगेर सुरक्षाकर्मी र नो केबलकार पक्षकासँग प्रारम्भिक सूचना संकलन गर्दा रातको १२ बजेको थियो ।
........
(सुरुमा सुनौ,नो केबलकार पक्षको प्रतिक्रिया)
शनिबार अपरान्हतिर पाथीभरा क्षेत्रको झडपबारे सूचना संकलनमा थियौ । किर्तीमान मादेनले फोन गरेर भने,‘झडपमा केही साथी घाइते भएको खबर छ । एम्बुलेन्स व्यवस्थापन गरेर पत्रकार र मानवअधिकारर्मीले सहजीकरण गरिदिनुपर्यो ।’ लगत्तै प्रमूख जिल्ला अधिकारीलाई फोन गर्यौ । प्रमुख जिला अधिकारी नेत्र प्रसाद शर्माले भने,‘स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।’ पुनः मादेनले फोन गरे,‘कृपया सिरियस भैदिनुपर्यो । एम्बुलेन्स लगेर सहयोग त गरिदिनुहोस् !’ लगत्तै श्री लिङ्खिमको फोन आयो । लिङ्खिमले भने,‘हामी त जंगलतिर छौ । तीन जना घाइते साथी छन् । एम्बुलेन्स के हुँदैछ ।’ १५ मिनेटको अवधिमा यति धेरैसँग फोन कुराकानी (थोरै–थोरै) भयो, भनिसाध्य छैन् । लाग्यो, त्यहाँको अवस्था सुनेको भन्दा जटिल पो छ कि ! एम्बुलेन्स व्यवस्थापन गर्ने र जाने निधो गरे । बाक्लो कपडा लगाउन हतार–हतार घरतिर लागे । घर नपुग्दै कमल लिम्बुको फोन आयो । उद्योग वाणिज्य सँघका महासचिव समेत रहेका लिम्बुले भने,‘देवराज जी । तपाई कता ?’ मेलै भने,‘घर जाँदैछु ।’ कमलले भने,‘तपाई जहाँ हुनुहुन्छ । त्यही बस्नु । एम्बुलेन्स लिएर जानुपर्छ ।’ पत्रकार आनन्द गौतम लगायतसँग सूचना आदान प्रदान भइरहेकै थियो । इन्सेकका कोशी प्रदेश पूर्व प्रमूख सोमराज थापा र राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत यमराज आङदेम्बेसँग पनि उत्तिकै फोन भइरहेको थियो । कुमार साम्यू,सरु सिंघक,माला पालुङवा,खगेन्द्र अधिकारी लगायत थुप्रैसँग कुराकानी भइरह्यो । कुराकानीका लागि एउटै उदेश्य थियो,–स्थिति बाहिर हल्ला गरेजस्तै हो भने कसरी हुन्छ रोक्नका लागि कोसिस गर्नु । हुनतः हामीले भन्दा बढि अरुले नै मेहनत गरे होलान् । विस्तारै थाहा होला ।
केहीवेरमा कमल जी र म सशस्त्र प्रहरीकै गाडीमा चढ्यौ । हाम्रो अगाडी एम्बुलेन्स गुड्यो । प्रहरीकै गाडीमा चढ्नुका कारण कहि कतै बाटोमा नो केबलकार पक्षकाले अवरोध गर्ला कि भन्ने डर थियो । सुरक्षा निकायलाई डर थियो वा थिएन । थाहा भएन । यद्यपी कतै विगतमाजस्तै ढुङगा हान्ला कि भन्ने पीर हामीमा हुनु स्वभाविक नै हो । एम्बुलेन्स र गाडीको गतिमा फरक त पर्छ नै । कमल जी र मैले फोनबाट तालमेल मिलाउन सानो कोसिस गर्यौ । श्री लिङ्खिम,सरोज कङलिवा र कमला पालुङवालाई भन्यौ,‘घाइते को–को छन् । भेला गर्न थाल्नु । प्रहरीले बोकेर काफ्लेपार्टीसम्म ल्याउन मदत गर्छ ।’ कुरा सुन्ने वित्तिकै उनीहरुले आनाकानी गरे । उनीहरुले भने,‘तपाईहरु आइपुग्नु । अनिमात्र भेला गरेर लैजाउँला ।’ हामीले फेरि भन्यौ,‘त्यसो होइन । उपचारमा ढिला गर्न पटक्कै हुन्न । इन्स्पेक्टर विवेक बस्नेत सर बलुडाँडामै हुनुहुन्छ । उहाँले नै सहजीकरण गर्नुहुन्छ ।’ सहायक प्रमूख जिल्ला अधिकारी सन्दिपा खड्का,प्रहरी नायब उपरिक्षकद्धय रवि रावल र नरेश महर्जनसँग कमल जीले आवश्यकता बमोजिम कुरा गरिरहे । एउटै विषयमा एउटै मान्छेलाई दुवैले फोन नगरौ भन्ने सल्लाह यात्रामै भयो । सुरक्षा प्रमूख,हामी,नो केबलकार पक्ष र बलुडाँडामा रहेका सुरक्षा कमाण्डरबिच फोनबाट तालमेल भयो । लगत्तै सरोज,कमला र श्रीले घाइतेलाई बलुडाँडामा प्रहरी निरीक्षक विवेक बस्नेतसहितको टोलीलाई जिम्मा दिए । सुरक्षाकर्मीले नै काफ्लेपार्टीसम्म ल्याए । एम्बुलेन्स (मे१च ६४६२) चालक भानु भक्त (भक्ति) भण्डारीले तीनै जना घाइतेलाई लिएर फर्के । साथममा सुरक्षाकर्मी पनि सँगै थिए । घाइते याम बहादुर लिम्बुलाई अगाडी नै ल्याईसकेको थियो । काफ्लेपार्टी सुनसान थियो । केहीबेरमा सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र जनपथका इन्स्पेक्टर विवेक बस्नेत र रोहित कुमार शर्मा काफ्लेपार्टी आइपुगे । इन्स्पेक्टर शर्माको दाहिने गाला सुन्निएको थियो । गालामा रातो छाप थियो । उनले भने,‘हातमा ढुङगा राखेर हिर्काए । साह्रै दुख्छ । भित्रको दाँत नै फुट्यो क्यार !’ घाइतेको विवरण कमाण्डरले आफू मातहतका निकायमा अपडेट गर्न थाले । आधा दर्जन जति सशस्त्र र उत्तिकै संख्यामा घाइते थिए,जनपथ प्रहरी । केहीबेर घटनाबारे कुराकानी गर्यौ । सुरक्षाकर्मीको मुहारमा दिनभरको थकान र भोक प्रष्ट झल्किएको थियो । उता नो केबलकार पक्षका भोक–भोकै बलुडाँडा आसपासकै जंगलतिर छरिएर बस्न पुगे । सरोज कङलिवाले फोनमा भने,‘एउटा भाईको हात भाच्चिएको छ । त्यहाँसम्म पठाईदिन्छौ । अस्पतालसम्म लगिदिनुहोला ।’ सशस्त्रका इन्स्पेक्टर ओलीसँग कुरा भयो । उनले भने,‘एकछिन पर्खौ । आएपछि जानुहोला । म चाहिँ यतै बस्छु ।’ । केहीवेरमा फेरि सरोजले नै फोनमा भने,‘तपाईहरु जानु । घाइते भाई फुरुम्बु पुगेछ ।’ घाइतेलाई ल्याउँदा प्रहरीले सबैलाई पक्राउ गर्ने डर नो केबलकार पक्षकालाई थियो । त्यही भएर हामीलाई फोन गरेर फिल्डमै आउनका लागि अनुरोध गरेको त्यही पुगेर थाहा पायौ । सायद बेला याद आयो । बुढापाकाले भनेका कुरा,–डर लुकाउने ठाउँ हुँदैन् ।
रातको करिब साढे ११ बजेको थियो । चिसो साह्रै छिप्पिएको थियो । निकै भोकाएका थियौ । इन्द्र केदेम त्यही थिएछ । उनले खाजा खाना खाएर जान अनुरोध गरे । तर गाडी स्टार्ट भइसकेको थियो । त्यही भएर एउटा रेडबुल तातोपानीमा मिसाएर दुई जनाले पियौ । त्यो रेडबुल नै खाजा र खाना बन्यो । लगत्तै गाडी चढ्यौ । घरआइपुग्दाको र अस्पतालबाट घाइतेलाई रेफर गरेको समय एउटै पर्यो । त्यहीभएर घाइतेसँग भेटघाट र कुराकानी सम्भव हुन सकेन् । श्री लिङ्खिम,सरोज कङलिवा र डम्बर पालङवाका अनुसार बलुडाँडामा नो केबलकार पक्षका १० जना जति थिए । बाँकी चाहिँ जम्बो डाँडामा थिए । जम्बो डाँडा फेदि नजिक पर्छ । आइतबार विरोध कार्यक्रम तय गरेको थियो । त्यही भएर जिम्मेवारी बाँडफाँडमा छलफल केन्द्रित थियो । उनीहरुकै भाषामा बलुडाँडामा प्रहरी आएर खानतलासी गर्न थाल्यो । केहीलाई थप्पड लगाए । प्ले कार्ड खोसे । केही च्यातेर फ्याकिदिए । घर जा भन्दै थर्काउन थाले । २ वटा हाते माइक खोसे । प्रहरीलाई त्यसो नगर्न भनि अनुरोध गर्न आफूले फोन गर्दा नउठाएको उनीहरुको गुनासो थियो । सरोजले भने,‘मैले तीनै जना इन्स्पेक्टरलाई फोन गरे । तर उठाएनन् । कम्तीमा फोन कुराकानी भएको हुँदो हो त घटना नहुन सक्थ्यो ।’ त्यसपछि जम्बो डाँडाबाट फोनमा लाइभ गर्दै झरेको उनले सुनाए । दोश्रो झडप सुरु हुँदा करिब साढे ५ बजेको थियो । त्यो झडप निकै डरलाग्दो भयो । उनीहरुका अनुसार प्रहरीले पहिलो झडपमा १७ र दोश्रो झडपमा २० बढि फायरिङ गरे । उनीहरुले भन्छन्,‘अवैध हतियार छ भनेर खानतलासी गर्यो । तर हामीसँग हतियार थिएन् । वहाना बनाएर लखेट्ने योजना मात्र हो ।’ होटलका घरको चाबी फोरेको र सामान फ्याँकिदिएको उनीहरुको आरोप छ ।
.......
अब सुनौ सुरक्षाकर्मीको कुरा
काफ्लेपाटी र बलुडाँडामुनिको क्याम्पमा प्रहरी थियो । अवैध हतियारसहित गलत क्रियाकलापको सुचना पाएर प्रहरी तत्काल बलुडाँडा पुग्यो । तर त्यहाँ भएकाले प्रहरीमाथि अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ । त्यहाँ प्रहरी विरुद्ध ढुङ्गामुढा नै गरे । तर प्रहरीले सम्झाईबुझाई गर्यो । केहीबेर धकेलाधकेल मात्र भयो । ३ वटा खुकुरी बाम्फोक बरामद गर्यो । प्रहरी आफ्नै क्याम्पमा फर्किए । तर क्याम्प नआइपुग्दै बलुडाँडा र जम्बो डाँडाबाट ठूलो सख्यामा भेला भएर आएकाले प्रहरी क्याम्प घेराउ गर्न खोज्यो । अश्लिल शब्द बोल्न थाले । ढुङ्गामुढा र गुलेली पनि हान्न थाले । काफ्लोर्टीबाट ब्याकअप टोली नआएको भए निकै गाह्रो हुने स्थितिमा पुगेको थियो । त्यही बेला प्रदीप मादेन अर्थात नानी मादेन र प्रमूख जिल्ला अधिकारीबिच टेलिफोन कुराकानी भएको हो । प्रमूख जिल्ला अधिकारी शर्माले भने,‘मलाई ४ मिनेट जति फोनमा गाली गरे । ज्यान मार्ने धम्की नै दिए । युद्ध सुरु भएको घोषणा पनि गरे ।’ लगत्तै श्री लिङखिम र सरोज कङलिवाले फोन गरेर नानी मादेनको धम्की संस्थागत नभएको आफूलाई जानकारी गराएको प्रजिअ शर्माले सुनाए । प्रजिअ शर्माले भने,‘सुचनाका आधारमा खानतलासी गर्नु हाम्रो दायित्व हो । तर उनीहरुले प्रहरीलाई गलत हर्कत नगरेको भए केही पनि हुँदैनथियो ।’ नो केबलकार पक्षले प्रहरीमाथि हेपाह प्रवृत्ति देखाएको सुरक्षा निकायको बुझाई छ । कानुन हातमा लिने प्रयास कदापी स्विकार्य छैन् । शान्तिपुर्ण विरोध र नाराजुलस गर्न पाइन्छ । तर हतियारसहित गर्न पाइदैन । नो केबलकार पक्षले मानवअधिकारको कुरा गर्न सुहाउनेगरीको छैन् । उनीहरुले बालबालिका प्रयोग गरेका छन् । प्रशासनको प्रश्न छ,‘उनीहरुले बालबालिका किन प्रयोग गर्छन ? नत्र तथ्यांक हेर्नुहोस न । पक्राउ पर्नेहरु प्रायः १८ वर्षमूनिका धेरै छन् ।’ प्रजिअ शर्माका अनुसार धैर्यताको सिमा हुन्छ । तर नो केबलकार पक्षका साथीहरुले सुरक्षाकर्मीलाई होच्याउने र खिल्ली उडाउने मात्र होइन, कब्जा गर्ने र आक्रमण गर्नेसम्मको योजना थियो ।
झडपको सुरुवात बारे सुरक्षाकर्मी र नो केबलकार पक्षको आ आफ्नै दावी छ । झडप हुनुमा एकले अर्कोलाई आरोप लगाएका छन् । बास्तविकता के हो, स्यंम प्रहरी र नो केबलकार समूह वाहेक अरुलाई थाहा छैन् । दुई पक्षले गरेको गतिविधि बलुडाँडाको गर्भमा सिमित नहोस् । सायद, छानविन भएर सत्यतथ्य सार्वजनिक होला । सार्वजनिक चासोको विषय भएकाले दुवै पक्षसँग सोधपुछ गरेर दुवैको कुरा सार्वजनिक गरेका छौ । दुवै पक्षले घटनाबारे सुनाएको विवरण जस्ताको तस्तै सुनाएका हौ । आशा छ, जे नहुनु थियो, भयो । अब कहिल्यै यस्तो नहोस् । संवादबाट समस्या समाधान हुनेमा ढुक्क छौ ।
पाथीभरामा केबलकार पक्षधरको जिन्दावाद र विपक्षको मुर्दावादको नारा कसैका लागि प्रिय छैन् । केबलकारकै विषयमा जिल्लाभित्र र वाहिर धेरै पटक छलफल चलेको छ । जिल्लाबासीले बन्दको समस्या धेरै पटक भोगिसकेका छन् । माघ १५ गतेदेखि बन्दको आव्हान गरेको छ । थाहा छैन्, बन्द खुल्छ वा लामो समय बन्द नै हुन्छ ।