फागुन ५ गते । तमोरको गर्तिर नै गर्तिर मोटरको यात्रा । सेताम्मे हिमालको ताती । फराकिला फाँटको रोचक दृश्यको मज्जा त भनिसाध्य छैन । लोभलाग्दो नौ घुम्ती सडक । फुत्त तरिने तमोरको मुहान । निस्फिक्री चरिरहेका नाउरका बथान । पहाडको थाप्लोबाट बेग हानेर उड्ने पंछी । मन अड्याउने दृश्य र थकान नै मेटाउने गज्जबको यात्रा । सदरमुकामदेखि ओलाङचुङगोलासम्म ७५ किलोमिटर छ । गोला टिप्तल्ला भन्जाङ मात्र २५ किलोमिटर । सडकचाहिँ कच्ची छ । दुई देशको सिमा हेर्न थुप्रै जना गइसके । पालो अब तपाईको । गोला र टिप्तल्ला नाकाले स्वागतका लागि कुरिरहेको छ । जाने होइन ? ए...अनि छुट्ला है, सिङ्जेमा ताल । अलिक माथि पर्छ स्याम्दु ताल ।
चीनको स्वशाषित क्षेत्र तिब्बतसँग जोडिएको छ, टिप्तल्ला भन्ज्याङ । अर्थात टिप्तला नाका । जुन ओलाङचुङगोला पर पर्छ । करिब ५ हजार २ सय मिटरको उचाईमा अवस्थित छ । नाका पार गरेपछि तिब्बताको रिउ बजार पुगिन्छ । जहाँसम्म कोबिड अघि गोलाबासी मात्र आवतजावत गर्थे । नुनदेखि सुनसम्म कारोवार गर्थे । विहेवारी त उ बेलादेखिकै हो । चिन र गोलाबासीबिचको सांस्कृतिक र भावनात्मक सम्बन्ध कम्ता लोभलाग्दो छैन् । नङ र मासुको जस्तै ।
२०७६ सालको अन्त्यदेखि कोबिडका कारण २०८१ को आधा समयसम्म नाका बन्द रह्यो । बल्ल नाका खुलेको छ । सिमा नाका नजिकैसम्म आवतजावत र सामान आयात निर्यात हुन थालेको छ । तर पशुचौपाया भने निर्यात हुन सकेको छैन् । चौरी,याक,डी र फम्जो लगायतको गोठ फैलिएको छ । हिमाल फेदतिरको चरन क्षेत्र रहरलाग्दो छ । तर गोठ फैलिएर पनि किसान त्यती खूसी छैनन् । एकातिर विक्री नहुँदा आम्दानीमा असर परेको छ, अर्कोतिर चरन क्षेत्र अभावको समस्या झेल्नुपरेको छ ।
तमोर नदिको एकापटि ओलाङगोला बस्ती छ । झुरुप्प बस्ती भएकाले आकर्षक छ । करिब ५ दर्जन जति घर छन् । मौलिकता बोकेको ढुङ्गा र काठले बनेको घर । तर कतिपय घर रित्तो छ । गोब्रे सल्लाको काठको छानो भएकाले कति सुहाएको । हावाको बेगसँगै फर्रर्र फरफरिहने लुङदर । घरपिच्छे कुसाङ । कुसाङमा विहानीको समयमा सल्काईने हिमाली धुपको सुगन्ध । पवित्र मन भएका गोलाबासीले विहान उठ्ने वित्तिकै कुसाङमा धुप बाल्छन् । मानव र चराचर जगतको काम गर्छन् । अनिमात्र दैनिकी सुरु गर्छन् । हेर्नुहोस त † यो मानवताको उदाहरण सुन्दै लोभलाग्दो छ ।
डा. सन्दुक रुइट गोलामै जन्मिएका हुन् । टिप्तल्ला नाकादेखि गोलासम्म आफनै खर्च गरेर सडक ल्याउने मन र धनका धनीहरु गोलामै जन्मिएका छन् । यहाँका घरको भुँईतल्लाको गारोभरि चौरीको गोबर टाँसिएको हुन्छ । त्यही गोबरले बर्खामा दाउराको काम गर्छ । बस्तीमाथि चार सय वर्ष पुरानो डिकी छ्योखोर्लिङ बौद्ध गुम्बा छ । देशकै सम्पत्ति । अध्यन र अनुसन्धान गर्ने थलो । ओलाङचुङगोलाले हिउँदमा हिउँको सिरक ओढ्छ । तमोर नदिको वहावको आवाजमा प्रकृतीको गीत गुनगुनाउँछ । बादलसँग लुकामारी गर्छ । निलो आकाशसँग खूसी साट्छ । चट्टाने पहाडको थाप्लोमाथि विभिन्न आकृती । त्यही आकृतिलाई पृष्ठभूमिमा राखेर क्लिक क्लिक तस्बिर नखिच्ने कुरै भएन् । कि कसो ?
प्रकृतीले साथ दिएको । तर विकासले पर्खिरहेको । शब्दमा यति मीठो लाग्ने ठाउँ पुग्न अब कुनै आइतबार पर्खनुपर्दैन् । अब गोलाहुँदै तिब्बतसँग सिमा जोडिएको टिप्तला नाकासम्म मोटर यात्रा सम्भव बनेको छ । सिरीजङ्गा गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले त्यो क्षेत्रको भ्रमण गरेपछि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरे । हिउँ परेको तस्बिरमा थुप्रैको लाइक र कमेन्ट छ ।
माघ लागेसँगै मौसम अनुकुल छ । वर्खायाममा झरि बादलको डर हुन्छ । त्यसैले मौका यहि हो,ओलाङचुङगोला सिङ्जेमा ताल र टिप्तला भन्ज्याङ जाने । न जाडो न गर्मी । सवारी चालक रविन गुरुङका अनुसार सदरमुकाम ओलाङचुङगोला बेलैमा पुगिन्छ । भाडाचाहिँ तीन हजार पर्छ । गोला टिप्तला रिर्जबमा जान्छ । उनले भने,‘रिर्जब कन्फर्म भएपछि भाडाको कुरा हुन्छ । खासै महँगो छैन् ।’
गोलामा खान बस्न समस्या छैन् । वडाअध्यक्ष छेतेन शेर्पा लामाका अनुसार गोलाबासी पर्यटनमा लगानी गर्न थालिसकेका छन् । उनले भने,‘पर्यटन आम्दानी हो । अतिथि देवो भवः भन्ने नारामा इमान्दार छौ ।’
तस्बिरः किपा शेर्पा र डा. चित्र माबोको फेसबुकबाट साभार