setoveda logo
४ वैशाख २०८३, शुक्रवार

कक्षा १२ को नतिजा : ६१ प्रतिशत उत्तीर्ण, ९ प्रतिशतले सुधार

साउन १९, २०८२, सोमवार
कक्षा १२ उत्तिर्ण चित्र । स्रोतः ई कान्तिपुर

कक्षा १२ उत्तिर्ण चित्र । स्रोतः ई कान्तिपुर

साउन २० गते । कक्षा १२ को परीक्षामा यो वर्ष ६१.१७ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ (उत्तीर्ण) मा परेका छन् । गत वर्षको तुलनामा यसपालि ९.०२ प्रतिशत विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका हुन् । गत वर्ष ५२.१५ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडिङ’ मा परेका थिए । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशन गरेको नतिजाअनुसार ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जना ‘ग्रेडेड’ भएका छन् । ‘ननग्रेडेड’ १ लाख ५३ हजार ८ सय ८२ परीक्षार्थीले तत्काल माथिल्लो तहमा भर्ना हुन पाउँदैनन् । दुई विषयसम्म ‘ननग्रेडेड’ विद्यार्थीका लागि २८ र २९ भदौमा ग्रेडवृद्धि परीक्षा हुनेछ ।

गत असारमा सार्वजनिक एसईईको नतिजामा पनि ६२ प्रतिशत (अघिल्लो वर्षभन्दा करिब १४ प्रतिशत बढी) विद्यार्थी ‘ग्रेडिङ’ मा परेका थिए । एसईईको नतिजामा अप्रत्याशित सुधार देखिएको भन्दै शिक्षाविद्हरूले पनि आशंका गर्दै आएका छन् । विद्यार्थीको शिक्षण सिकाइ सुधार गरिएको कि परीक्षा प्रणालीलाई कमजोर पारियो भन्ने उनीहरूको प्रश्न छ । बोर्डका अध्यक्ष महाश्रम शर्मा विद्यालय तहसम्मको अधिकार स्थानीय तहमा गएका कारण पठनपाठन संस्कृतिमा सुधार हुँदा कक्षा १२ को नतिजा राम्रो आएको बताउँछन् । कक्षा १२ मा नियमिततर्फ नतिजा सुधार देखिए पनि आंशिकतर्फ सन्तोषजनक देखिँदैन ।

बोर्डका अनुसार आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० जनाले परीक्षा दिएकामा ४१ हजार ८ सय ४० जना ९३६.४९ प्रतिशत ले मात्र ‘ग्रेड’ प्राप्त गरेका छन् । यसमा ‘ननग्रेडेड’ ७२ हजार ८ सय विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा पनि सहभागी हुन पाउँदैनन् । नियमिततर्फ दुईभन्दा बढी विषयमा ‘ननग्रेडेड’ विद्यार्थीसँगै उनीहरूले आउँदो वैशाखको वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । नियमिततर्फको समग्र नतिजामा सुधार देखिए पनि गत वर्ष जस्तै कर्णाली, मधेश, सुदूरपश्चिम, लुम्बिनी र कोशीको नतिजा राष्ट्रिय औसतभन्दा कमजोर छ । विद्यार्थी संख्या धेरै रहेको बागमती र गण्डकी प्रदेशको नतिजा मात्रै राष्ट्रिय औसतभन्दा राम्रो छ ।

बागमती प्रदेशबाट १ लाख २४ हजार ८ सय ४१ जनाले परीक्षा दिएकामा ८७ हजार ९ सय ७६ जना (७०.४७ प्रतिशत) ‘ग्रेडेड’ र ३६ हजार ८ सय ६५ जना (२९.५२ प्रतिशत) ‘ननग्रेडेड’ छन् । गण्डकीका २८ हजार २ सय ४१ परीक्षार्थीमध्ये १८ हजार १ सय ३८ जना (६४.२२ प्रतिशत) ले ‘ग्रेडेड’ र १० हजार १ सय ३ जना (३५.७७ प्रतिशत) ले ‘ननग्रेडेड’ नतिजा ल्याए ।

एसईईमा सबैभन्दा पछाडि मधेश देखिए पनि कक्षा १२ को नतिजामा सबैभन्दा कमजोर कर्णाली प्रदेश देखिएको छ । कर्णालीबाट २५ हजार ४ सय ५८ जनाले परीक्षा दिएकामा १२ हजार ७ सय ७७ (५०.१८ प्रतिशत) मात्रै ‘ग्रेडिङ’ मा परेका छन् । १२ हजार ६ सय ८१ जना (४९.८१ प्रतिशत) विद्यार्थी माथिल्लो तह भर्नाका लागि अयोग्य भएका हुन् । एसईईमा भने कर्णालीका ७० प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ मा परेका थिए ।

मधेशका ५० हजार २ सय ७९ परीक्षार्थीमध्ये २६ हजार ९ सय ५६ जना (५३.६१ प्रतिशत) ले उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । २३ हजार ३ सय २३ (४६.३८ प्रतिशत) परीक्षार्थी ‘ननग्रेडेड’ भएका छन् । सुदूरपश्चिममा ३६ हजार ४ सय १४ जनाले परीक्षा दिएकामा १९ हजार ८ सय ६ जना (५४.३९ प्रतिशत) ‘ग्रेडिङ’ मा परेका छन् । अन्य १६ हजार ६ सय ८ (४५.६० प्रतिशत) ले भने तत्काल माथिल्लो तहमा अध्ययन गर्न नपाउने भएका छन् ।

लुम्बिनीमा ६६ हजार ८६ परीक्षार्थीमध्ये ३६ हजार ७ सय ६३ जना (५५.६२ प्रतिशत) ‘ग्रेडेड’ र २९ हजार ३ सय २३ जना (४४.३७ प्रतिशत) ‘ननग्रेडेड’ छन् । कोशीमा ६२ हजार १ सय ४१ परीक्षार्थी थिए । तीमध्ये ३७ हजार १ सय ७२ जना (५९.८० प्रतिशत) ‘ग्रेडेड’ र २४ हजार ९ सय ७० जना (४०.१९ प्रतिशत) ‘ननग्रेडेड’ मा परे । गत वर्ष कोशीका ४४, मधेशबाट ४६, बागमतीका ६७, गण्डकीबाट ५४, लुम्बिनीबाट ४८, कर्णालीबाट ४१ र सुदूरपश्चिमका ३९ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ मा परेका थिए ।

बोर्डका अध्यक्ष शर्माले सबैभन्दा बढी विद्यार्थी अंग्रेजी, लेखा, सामाजिक, नेपाली, अर्थशास्त्र, बिजिनेस स्टडिज, गणितलगायत विषयमा ‘ननग्रेडेड’ भएका छन् । अंग्रेजीमा ६६ हजार, लेखामा ४१ हजार, सामाजिकमा ३३ हजार ९ सय, नेपालीमा २८ हजार ३ सय, अर्थशास्त्रमा १७ हजार ७ सय, बिजिनेस स्टडिजमा १० हजार र गणितमा साढे ९ हजार विद्यार्थी ‘ननग्रेडेड’ छन् । एसईईमा गणित, विज्ञान, अंग्रेजी, सामाजिकमा सबैभन्दा धेरै छात्रछात्रा ‘ननग्रेडेड’ हुने गरेका छन् । कक्षा १२ मा भने गणित र विज्ञान अनिवार्यतर्फका विषय नभएकाले अंग्रेजीतर्फ ‘ननग्रेडेड’ विद्यार्थीको संख्या धेरै देखिएको हो । एसईईमा गणितमा मात्रै १ लाख २८ हजार २ सय १५, अंग्रेजीमा ८० हजार ६ सय ७२, विज्ञान तथा प्रविधिमा ७९ हजार २ सय ७१, सामाजिकमा ५३ हजार १ सय ८६, नेपालीमा ५४ हजार ७ सय ३५ र अर्थशास्त्रमा ४२ हजार १ सय ५० जना ‘ननग्रेडेड’ भएका थिए । सामुदायिक विद्यालयमा वर्षौंदेखि गणित, विज्ञान, अंगेजीलगायत विषयमा शिक्षक अभावको समस्या छ । २०५७ सालदेखि नै सामुदायिक विद्यालयमा स्थायी एउटा पनि दरबन्दी थप गरिएको छैन । कक्षा ११ र १२ मा शिक्षकको स्थायी दरबन्दी शून्य छ ।

कक्षा १२ मा यसपालि जीपीए ३.६० देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १३ हजार ५ सय २ छ । जीपीए ३.६० भन्दामुनि ३.२० सम्म ५५ हजार ८ सय ९६ जनाले प्राप्त गरेका छन् । यस्तै, ३.२० भन्दामुनि २.८० सम्म प्राप्त गर्ने ९४ हजार २ सय ६८ जना छन् । जीपीए २.८० भन्दामुनि २.४० सम्म ६९ हजार ८ सय १२ र २.४० भन्दामुनि २.० सम्म ल्याउने विद्यार्थीको संख्या ८ हजार ९ सय ६४ छ । जीपीए २.० भन्दामुनि १.६० सम्म ल्याउने विद्यार्थी २३ जना छन् ।

कुन जीपीएमा कति विद्यार्थी ?

३.६० देखि ४ सम्म : १३,५०२

३.२० देखि ३.६० भन्दा कम : ५५,८९६

२.८० देखि ३.२० भन्दा कम : ९४,२६८

२.४० देखि २.८० भन्दा कम : ६९,८१२

२.० देखि २.४० भन्दा कम : ८,९६४

१.६० देखि २.० भन्दा कम : २३ Ekantipur