setoveda logo
२० जेठ २०८३, बुधवार

हिउँदे वर्षाका लागि ब्याकुल नेपाल, ताता वर्षले थपिँदै संकट

माघ १४, २०८२, बुधवार
जल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभाग

माघ १४ गते । यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा मुलुकभर सुक्खापन बढ्दै गएको छ । मंसिरदेखि माघसम्म हुनुपर्ने औसत वर्षा नभएपछि यसको प्रत्यक्ष असर कृषि, जलविद्युत्, पर्यटन र स्वास्थ्य क्षेत्रमा मात्र नभई आगामी ‘प्रि–मनसुन’ (फागुन–जेठ) मा समेत पर्ने विज्ञहरूले औंल्याएका छन् । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार, गत कात्तिकमा आएको चक्रवातका कारण जमिनमा केही ओस रहे पनि हिउँदे वर्षाको अभावले गर्दा त्यो ओस समेत सुक्दै गएको छ ।

‘अहिलेको सुक्खापनले आगामी चैत–वैशाखको समयलाई थप कष्टकर बनाउने देखिएको छ,’ सिग्देल भन्छन्, ‘जलचक्र र जमिनको पानीको सन्तुलन बिग्रिँदा माटोको ओस पूर्णरूपमा हराउने र यसले प्रि–मनसुन प्रणालीलाई समेत प्रभावित पार्ने देखिन्छ ।’ जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदर करिब ६० मिलिमिटर ९५९।८ मिलिमिटर० वर्षा हुन्छ । तर यस वर्ष १६ मंसिरदेखि १३ माघ बिहान ८स्४५ बजेसम्म सरदर ६।०२ प्रतिशत अर्थात् ३.६ मिलिमिटर मात्र वर्षा भएको विभागको रेकर्ड छ ।

‘हिउँदयामका डिसेम्बर र जनवरी महिनाको सरदर वर्षा क्रमशस् ९ र २२ मिलिमिटर हो । तर यसपालि डिसेम्बर महिनामा शून्य वर्षा भयो,’ जल तथा मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका मौसमविद अशोक बख्रेल भन्छन् । यो वर्ष पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्ममात्र वर्षा र हिमपात भएको छ । केही हिमाली भेगबाहेक अन्यत्र राम्रोसँग हिउँ र पानी पर्न सकेन । यस वर्ष गत कात्तिक महिनामा देशभरका उच्च पहाडी र हिमाली भेगमा हिउँ परेको थियो । त्यसपछि माघ ९ र १० गते पनि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशका भूभागहरुमा हल्कादेखि मध्यम खालको हिउँरपानी परेको छ । माघ १३ र १४ गते पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पर्ने पानीले पनि सरदर वर्षाको मात्रा नभेट्ने विभागका बरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।

उनले भने, ‘माघ ९ र १० गतेको तुलनामा १३ र १४ गतेको प्रणाली अलिकति बलियो त छ तर त्यतिले मात्र पनि हिउँदको सरदर वर्षा ९५९.८ मिलिमिटर) को मात्रा पुग्दैन ।’ यद्यपि हिउँद अवधि फागुन १५ गतेसम्म रहने भएकाले यस बिचमा पानी र हिउँको मात्रा केही थपिनेमा आशावादी हुन सकिने उनले बताए । विभागले ३० वर्ष अवधिको (सन् १९९१ देखि सन् २०२० सम्मको) १२६ वर्षा मापन केन्द्रमा रेकर्ड भएको वर्षाको तथ्यांकको आधारमा सरदर वर्षाको मात्रा निकाल्ने गर्दछ ।