setoveda logo
४ वैशाख २०८३, शुक्रवार

हिउँदे वर्षाका लागि ब्याकुल नेपाल, ताता वर्षले थपिँदै संकट

माघ १४, २०८२, बुधवार
जल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभाग

माघ १४ गते । यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा मुलुकभर सुक्खापन बढ्दै गएको छ । मंसिरदेखि माघसम्म हुनुपर्ने औसत वर्षा नभएपछि यसको प्रत्यक्ष असर कृषि, जलविद्युत्, पर्यटन र स्वास्थ्य क्षेत्रमा मात्र नभई आगामी ‘प्रि–मनसुन’ (फागुन–जेठ) मा समेत पर्ने विज्ञहरूले औंल्याएका छन् । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार, गत कात्तिकमा आएको चक्रवातका कारण जमिनमा केही ओस रहे पनि हिउँदे वर्षाको अभावले गर्दा त्यो ओस समेत सुक्दै गएको छ ।

‘अहिलेको सुक्खापनले आगामी चैत–वैशाखको समयलाई थप कष्टकर बनाउने देखिएको छ,’ सिग्देल भन्छन्, ‘जलचक्र र जमिनको पानीको सन्तुलन बिग्रिँदा माटोको ओस पूर्णरूपमा हराउने र यसले प्रि–मनसुन प्रणालीलाई समेत प्रभावित पार्ने देखिन्छ ।’ जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदर करिब ६० मिलिमिटर ९५९।८ मिलिमिटर० वर्षा हुन्छ । तर यस वर्ष १६ मंसिरदेखि १३ माघ बिहान ८स्४५ बजेसम्म सरदर ६।०२ प्रतिशत अर्थात् ३.६ मिलिमिटर मात्र वर्षा भएको विभागको रेकर्ड छ ।

‘हिउँदयामका डिसेम्बर र जनवरी महिनाको सरदर वर्षा क्रमशस् ९ र २२ मिलिमिटर हो । तर यसपालि डिसेम्बर महिनामा शून्य वर्षा भयो,’ जल तथा मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका मौसमविद अशोक बख्रेल भन्छन् । यो वर्ष पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्ममात्र वर्षा र हिमपात भएको छ । केही हिमाली भेगबाहेक अन्यत्र राम्रोसँग हिउँ र पानी पर्न सकेन । यस वर्ष गत कात्तिक महिनामा देशभरका उच्च पहाडी र हिमाली भेगमा हिउँ परेको थियो । त्यसपछि माघ ९ र १० गते पनि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशका भूभागहरुमा हल्कादेखि मध्यम खालको हिउँरपानी परेको छ । माघ १३ र १४ गते पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पर्ने पानीले पनि सरदर वर्षाको मात्रा नभेट्ने विभागका बरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।

उनले भने, ‘माघ ९ र १० गतेको तुलनामा १३ र १४ गतेको प्रणाली अलिकति बलियो त छ तर त्यतिले मात्र पनि हिउँदको सरदर वर्षा ९५९.८ मिलिमिटर) को मात्रा पुग्दैन ।’ यद्यपि हिउँद अवधि फागुन १५ गतेसम्म रहने भएकाले यस बिचमा पानी र हिउँको मात्रा केही थपिनेमा आशावादी हुन सकिने उनले बताए । विभागले ३० वर्ष अवधिको (सन् १९९१ देखि सन् २०२० सम्मको) १२६ वर्षा मापन केन्द्रमा रेकर्ड भएको वर्षाको तथ्यांकको आधारमा सरदर वर्षाको मात्रा निकाल्ने गर्दछ ।