setoveda logo
४ वैशाख २०८३, शुक्रवार

अहिलेको प्रदूषणले चुरोट नखानेलाई पनि खाए बराबर असर गर्छ

फागुन २७, २०८२, बुधवार
काठमाण्डौ विश्वकै धेरै प्रदूषित शहरहरूको सूचीमा माथिल्लो स्थानमा

काठमाण्डौ विश्वकै धेरै प्रदूषित शहरहरूको सूचीमा माथिल्लो स्थानमा

फागुन २७ गते । प्रदूषणको समस्या नयाँ होइन । यसअघि पनि यस्तै स्तरको प्रदूषण देखिँदै आएको थियो । तर हालै अन्तर्राष्ट्रिय मापनहरूमा काठमाण्डौ विश्वकै धेरै प्रदूषित शहरहरूको सूचीमा माथिल्लो स्थानमा देखिएपछि यसबारे चर्चा बढी हुन थालेको हो । विश्व स्वास्थ्य सङ्गगठनले वायु प्रदूषणको एउटा सुरक्षित सीमा तोकेको छ । उदाहरणका लागि, हावामा हुने सबैभन्दा साना प्रदूषण कण अर्थात् एक्यूआई २।५ को मात्रा ५० भन्दा कम हुनुलाई सुरक्षित मानिन्छ । तर अहिले काठमाण्डौमा यो स्तर १ सय ८०–१ सय ९० को आसपासमा पुगेको देखिन्छ, जुन निकै असुरक्षित अवस्था हो ।

यसले दीर्घरोग भएका मानिसहरू– जस्तै फोक्सोसम्बन्धी समस्या भएका बिरामीहरूलाई बढी असर पार्ने त हुन्छ नै, तर सामान्य रूपमा स्वस्थ देखिने मानिसहरूलाई पनि यसले बिस्तारै बिरामी बनाउन सक्छ । प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटी दुख्ने, एलर्जी हुने, खोकी लागिरहने र फोक्सोसम्बन्धी समस्या बढ्ने जस्ता लक्षण देखिन सक्छन् । सबैभन्दा ठूलो चिन्ता के हो भने, यी प्रदूषणका कणहरू अत्यन्त साना हुन्छन् । त्यसैले यी सिधै फोक्सोभित्र पुगेर त्यहाँबाट रक्तसञ्चार प्रणालीमा प्रवेश गर्न सक्छन् । रगतमा पुगेपछि यी कणहरू शरीरका विभिन्न भागमा पुग्न सक्छन्, जसले गर्दा मुटुसम्बन्धी रोग, हृदयघात, पक्षघात तथा विभिन्न प्रकारका क्यान्सरको जोखिम बढ्ने सम्भावना हुन्छ । सहज तरिकाले बुझ्दा चुरोट खानेलाई जति जोखिम हुन्छ त्यती नै जोखिम नखानेलाई पनि अहिलेको प्रदूषणले बढाएको छ । अर्को चिन्ताजनक पक्ष के हो भने वायु प्रदूषणले गर्भमा रहेको भूर्णलाई पनि असर गर्न सक्छ । यसले भ्रूर्णको विकासमा समस्या ल्याउने, बच्चाको तौल कम हुने वा समयभन्दा अगाडि जन्मिने जस्ता जटिलता निम्त्याउन सक्छ ।

छोटो अवधिमा प्रदूषणको असरका रूपमा आँखा पोल्ने, नाक र घाँटी पोल्ने, खोकी लाग्ने, रुघाखोकी जस्तो हुने वा एलर्जी देखिने जस्ता समस्या देखिन सक्छन् । तर दीर्घकालीन रूपमा हेर्दा यसले दम, फोक्सोको रोग, विभिन्न अङ्गका क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी समस्या र मिर्गौला जस्ता अङ्गमा गम्भीर असर पार्न सक्छ । त्यसैले अहिलेको अवस्थामा वायु प्रदूषणलाई केवल असहज वातावरणको समस्या मात्र नभई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा हेर्न आवश्यक छ । पछिल्लो समय बढ्दो वायु प्रदूषणको अवस्था हामीले निरन्तर देखिरहेकै विषय हो । विशेषगरी काठमाण्डौ उपत्यका लगायत अन्य ठाउँमा पानी नपरेको बेला धुलो, धुवाँ र अन्य कणहरू हावामा धेरै फैलिन्छन् । मानिसहरूले घुर बाल्ने, सडकको धुलो उड्ने, गाडीबाट निस्किने धुवाँ र उद्योग–कलकारखानाबाट आउने प्रदूषणका कारण यहाँको हावा झनै दूषित बन्दै गएको छ ।

प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । विभिन्न अध्ययनहरूले देखाएअनुसार नेपालमा हरेक वर्ष झन्डै ४० हजारदेखि ४८ हजार मानिसको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित कारणले हुने गरेको छ । यो सङ्ख्या निकै ठूलो हो । उदाहरणका लागि, कोरोना भाइरस महामारीका समयमा नेपालमा झन्डै तीन वर्षमा १२ हजार मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ । तर वायु प्रदूषणका कारण भने हरेक वर्ष नै त्यसभन्दा धेरै मानिसको ज्यान जाने गरेको देखिन्छ ।

यद्यपि मृत्युको कारण प्रत्यक्ष रूपमा क्यान्सर, हार्ट अट्याक, स्ट्रोक वा श्वासप्रश्वाससम्बन्धी रोग देखिए पनि त्यसको पछाडि वायु प्रदूषण मुख्य कारक हुने गरेको चिकित्सकहरू बताउँछन् । अब व्यक्तिगत रूपमा हामीले गर्न सक्ने केही सावधानीहरू पनि छन् । सकेसम्म धुलो र धुवाँबाट जोगिनु सबैभन्दा महत्त्वपूर्ण हो । बाहिर वायु प्रदूषण धेरै भएको बेला मास्क लगाउने, र सम्भव भएसम्म धेरै धुलो–धुवाँ हुने समयमा बाहिर कम निस्किने प्रयास गर्नुपर्छ । घरभित्र पनि प्रदूषण हुन सक्छ । त्यसैले हामीले प्रयोग गर्ने चुलोको प्रकार पनि महत्त्वपूर्ण हुन्छ । यदि दाउरा बाल्ने चलन छ भने सुधारिएको चुलो प्रयोग गर्न सकिन्छ । ग्यास चुलोबाट पनि केही मात्रामा प्रदूषण हुने भएकाले सम्भव भएसम्म बिजुलीबाट चल्ने चुलो प्रयोग गर्नु राम्रो हुन्छ । त्यस्तै, घर वरिपरि कुडा–कर्कट वा सुकेका झारपात जलाउने बानी पनि प्रदूषण बढाउने कारण हो । यस्तो काम बन्द गर्नु आवश्यक छ । गागी प्रयोग गर्नेहरूले समय–समयमा सर्भिसिङ गराउनु पनि महत्त्वपूर्ण हुन्छ ।

राज्यको तर्फबाट पनि केही महत्त्वपूर्ण काम गर्नुपर्ने हुन्छ । विशेष गरी गाडीको प्रदूषण जाँचलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । अहिले धेरै गाडीमा प्रदूषण जाँच पास गरेको हरियो स्टिकर देखिए पनि छड्के जाँच गर्दा धेरै गाडीले मापदण्ड पूरा नगरेको पाइन्छ । त्यसैले जाँच प्रणालीलाई अझ पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ । प्रदूषण बढेको बेला बिहान वा बेलुका व्यायाम वा हिँडडुल गर्न बाहिर निस्कने विषयमा पनि सावधानी आवश्यक हुन्छ । सामान्य अवस्थामा व्यायाम स्वास्थ्यका लागि राम्रो हो, तर प्रदूषण अत्यधिक भएको बेला बाहिर निस्कनु उपयुक्त हुँदैन ।

यदि बाहिर निस्कनै पर्ने अवस्था छ भने एन ९४ वा केएन ९५ जस्ता राम्रोसँग अनुहारमा टाँसिने मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ । विशेष गरी दम, फोक्सोसम्बन्धी दीर्घरोग भएका व्यक्तिहरू र साना बालबालिकाका लागि यस्तो अवस्थामा बाहिर निस्कनु जोखिमपूर्ण हुन सक्छ । अहिले प्रविधिको प्रयोग गरेर पनि हामी वायुको अवस्था थाहा पाउन सक्छौँ । आफ्नो क्षेत्रको वायु प्रदूषणको स्तर बुझ्न सकिन्छ । मोबाइल वा इन्टरनेटबाट सजिलै हेर्न सकिने भएकाले बाहिर निस्कनु अघि प्रदूषण जाँच गर्ने बानी बसाल्नु राम्रो हुन्छ । यदि प्रदूषण धेरै उच्च छ भने सकेसम्म घरभित्रै बस्नु सुरक्षित हुन्छ ।

(संक्रमण रोग विशेषज्ञ डा। अनुप सुवेदीसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित) स्रोतः रासस,उज्यालो अनलाइन