setoveda logo
४ वैशाख २०८३, शुक्रवार

याम्फुदिनमा उत्पादित १२ मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान

फागुन १६, २०८१, शुक्रवार

फागुन १६ गते । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा निर्माण सम्पन्न गरिएको १२ मेगावाट क्षमताको सुपर काबेली खोला जलविद्युत आयोजनाको बिद्युत बिहीबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सिरिजङ्गा गाउँपालिका वडा नं ६,७ र ८ भएर बग्ने काबेलीखोलाबाट निकालिएको विद्युत् पाँचथरस्थित अमरपुर सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। हिलटन हाइड्रो इनर्जी लिमिटेडका अनुसार १२ मेगावट विद्युत प्रसारण लाइनमा जडान भएको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार उत्पादित विद्युतलाई १३२ केभी प्रसारण लाइनमार्फत पाँचथरको हिलिहाङ गाउँपालिका-१ अमरपुरस्थित दुबीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जडान गरेको हो । दुई वर्षको अवधिमा विद्युत् आयोजना पूरा गरेको हो । सुपर काबेली खोला जलविद्युत आयोजनाका अनुसार निर्धारित समयअगाबै निर्माण संम्भव बनेको हो । लागत २ अर्ब १४ करोड ३८ लाख २१ हजार रुपैयाँ छ । लागतमध्ये २५ प्रतिशत स्वः पुँजी हो । बाँकी ७५ प्रतिशत एनएमबी बैंक लिमिटेडको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सहितका बैंक साझेदारका रुपमा छन् ।

इन्टेक याम्फुदिनमा छ । पावर हाउस खेवाङमास्थित ओथाममा रहेको छ । निर्माण कार्य पूरा गर्न २०८१ साल चैत १० गते सम्मको अवधि रहेकोमा आयोजनाले प्राप्त अवधि भन्दा एक महिना अगावै विद्युत् उत्पादन गरी परीक्षण प्रसारण थालेको छ । २०७९ साल पुस २५ गतेबाट विद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।