चैत्र १९ गते । फुटबल प्रतियोगिता आयोजना गर्नु मात्रै कहाँ ठूलो हो र रु ठूलो त त्यति बेला हुन्छ, जति बेला यसको आयोजना नियमअनुसार सुमधुर हुन्छ । नेपाल सुपर लिग (एनएसएल) मंगलबार यसमै माथ खायो । दशरथ रंगशालामा खेल सुरु हुनुपर्ने थियो, साँझ ६ बजे । त्यसको केही मिनेट अगाडि नै एफसी चितवन र पोखरा थन्डर्स मैदानमा आइसक्नुपर्ने थियो । तर दुवै टिमको खेलाडीको अत्तोपत्तो थिएन । भएको थियो चाहिँ के, जानकारी दिने कोही थिएनन् ।
पछि खेल ठ्याक्कै १८ मिनेटपछि सुरु भयो । जति बेला खेल ढिला हुनुका कारण बाहिरिए, त्यसले प्रतियोगिताकै साख कमजोर मात्र भएको छैन, उल्टै यत्तिकै खराब ढंगले प्रतियोगिता गर्नु छ भने गर्नु नै किन पर्छ जस्ता प्रश्न पनि उब्जाएका छन् । अन्त्यमा खुसी हुनुपर्ने एउटै कारण के रह्यो भने विवाद र अन्योलबीच भएको खेलमा चितवन विजयी रह्यो । आखिरमा खेल त टुंगियो । तर तय के पनि छ भने यो खेलसँगै निम्तिएको विवादले लामै रूप धारण गर्नेछ ।
अझै पूरा आधिकारिक धारणा बाहिर आएको छैन तर बताइएको के छ भने चितवनले उतारेका विदेशी पाँच खेलाडीसँग श्रम स्वीकृति थिएन । जबकि प्रतियोगिताको नियमावलीमा स्पष्ट रूपमा भिसा र श्रम स्वीकृति दुवै चाहिन्छ भनिएको छ । यसबीच खेल खेल्नका लागि पोखरामाथि अनावश्यक दबाब सिर्जना भएको दाबी पनि बाहिर निस्केका छन् । पछि पोखरा आफैं कति लाचार भयो भने उसले पनि आफ्ना श्रम स्वीकृति नभएका विदेशी खेलाडीलाई उतार्यो ।
पूरा घटनाक्रममा सबैभन्दा सटीक विश्लेषण पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले गरे । यी प्रशिक्षक असाध्यै भलाद्मी त छन् नै, असाध्यै गम्भीर कुरा पनि उत्तिकै मार्मिक ढंगले व्यक्त गर्न सिपालु भइसकेका रहेछन् । उनले मिडियासामु भनेको ठ्याक्कै कुरा यही हो, ‘नेपाली फुटबलमा केही नभइरहेको यो प्रतियोगिता भएको छ । ठीकै छ, यसले हामीलाई पनि परिवार चलाउन अलिकति सजिलो भएको छ । तर यस्तै ढंगले चल्ने हो भने के अर्थ रह्यो र ?’ खेल ढिला सुरु भएकै कारण दुवै टिमले गरेको वार्म–अपको स्थिति बिग्रिसकेको थियो । यसले खेलाडीको मानसिकतालाई पनि बिगारेको थियो । प्रशिक्षक श्रेष्ठले ठीकै भने, ‘खेलको सुरुमै सबैको मानसिकता ठीक स्थितिमा रहन सकेन । यसले खेल प्रभावित भयो ।
फुटबलमा जित–हार त हुन्छ नै, यो स्वाभाविक हो । तर जसरी खेल अगाडि स्थिति बन्यो, त्यसले हामीलाई मानसिक रूपमा बलियो भएर खेल्न गाह्रो पार्यो ।’ श्रेष्ठलाई नेपाली फुटबलको परिस्थितिले परिपक्व बनाइसकेको रहेछ । पूरा घटनाक्रममा चितवनका प्रशिक्षक नवीन न्यौपाने पनि खुसी थिएनन् । उनले पनि भने, ‘जे जस्तो भयो, त्यो नेपाली फुटबलका लागि राम्रो होइन । एउटा घटनाले यति ठूलो प्रतियोगिता सानो स्थानीय प्रतियोगिताजस्तै भयो । मलाई सुरुमा हाम्रा खेलाडीको श्रम स्वीकृति छ भनिएको थियो । पछि आज इद परेकाले पूरा कागजात नआएको कुरा आयो । जे भयो, त्यो नराम्रो नै भयो । सबैले नियमअनुसार खेल्नुपर्छ । नखेल्नेलाई कारबाही गर्न सक्नुपर्छ ।’
मैदानमा फर्कने हो भने चितवनको जितमा प्रत्येक हाफमा एक–एक गोल भए । नोडिर माभलोनोभले १५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि नीरज चौधरीले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा अर्को गोल थपे । प्रतियोगिताका सुरुआती दुई खेल बराबरीमा टुंगेपछि यो पहिलो स्पष्ट जित–हारको नतिजा रह्यो । चितवनले यससँगै तीन अंकमा लिग तालिकामा सुरुआती अग्रता पनि लिएको छ । तर एउटा डर के कायम छ भने यो नतिजा यत्तिकै कायम रहने हो अथवा उल्टिने हो, त्यो भविष्यमै छ । E-kantipur