setoveda logo
४ वैशाख २०८३, शुक्रवार

विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग ४ विकेटले पराजित

कार्तिक १६, २०८२, आइतवार

कात्तिक १६ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपाल लगातार तेश्रो खेलमा पराजित भएको छ । हिजो भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाएर भेटायो । अमेरिकाका साइतेजा मुक्कामलाले ७५, मिलिन्द कुमारले ७० र शायन जहाँगीरले ३६ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन, नन्दन यादव, करन केसी र गुल्शन झाले समान एक विकेट लिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा सहभागी नेपाली खेलाडी

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा सहभागी नेपाली खेलाडी

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाए । यस्तै करन केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाए । अमेरिकाका हरमित सिंहले तीन, नोस्टुस केन्जिगे र सौरभ नेत्रवलकरले समान दुई, जसदीप सिंह र शुभम रञ्जनेले समान एक विकेट लिए । यो हारसँगै लिग–२ मा नेपाल १९ खेलमा १२ अङ्कसहित पुछारबाट दोश्रो स्थानमा यथावत् छ । २३ खेलमा अमेरिका ३४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । यो शृङ्खलाको पहिलो खेलमा गएको आइतवार नेपाल अमेरिकासँग एक सय छ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै बिहीवार घरेलु टोली यूएईसँग भएको खेलमा पनि नेपाल पाँच विकेटले पराजित भयो । नेपालले यूएईमा भइरहेको श्रृंखलाको अन्तिम खेल आउँदो बुधवार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि टोली स्वदेश फर्कनेछ ।