कात्तिक १० गते । भारत र चीनबीचको सम्बन्धमा सुधार आइरहेको देखिएसँगै दुई देशबीच सीधा उडान पुनः शुरू भएको छ । भारतको कोलकाताबाट झन्डै १८० जना यात्रु बोकेर इन्डिगोको विमान आज दक्षिणी चिनियाँ शहर ग्वाङ्झाउ पुगेको बीबीसी हिन्दीले जनाएको छ । यससँगै भारत र चीनबीच झन्डै ५ वर्षपछि सीधा उडान पुनः शुरू भएको छ । कोभिड–१९ महामारीको समयमा सन् २०२० को शुरुआतमा दुई देशबीचको सीधा उडान निलम्बित गरिएको थियो । त्यही वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपपछि उडान पुनः शुरू हुन सकेनन् ।
गेटी इमेजेज
यद्यपि दुई देशबीचको सम्बन्ध अब बिस्तारै सुधार हुँदै गइरहेको खबरमा उल्लेख छ । गएको वर्ष दुई देशले सीमा गस्तीमा एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर पनि गरेका थिए । यस वर्ष अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ वर्षपछि चीनको भ्रमण गर्नुभएको थियो । त्यही महिनामा चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमणमा जानुभएको थियो ।