उज्यालो नेपाल पार्टीका ताप्लेजुङ उम्मेदवार (प्रत्यक्षतर्फ) कृतीमान मादेन मतदाताको घरमा
फागुन ६ गते । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका ताप्लेजुङ उम्मेदवार (प्रत्यक्षतर्फ) हुन्,–कृतीमान मादेन । ६५ वर्षीय मादेन पहिचानवादी नेताको नामले परिचित छन् । विगतमा लिम्बुवान प्रान्त घोषणा गर्नुपर्ने मागसहित आन्दोलनमा होमिएका व्यक्तित्व पनि हुन् । शान्त र नम्र स्वभाव मादेनको गुण हो । २०६४ सालयता चलेको लिम्बुवान प्रान्त घोषणाको माग होस या ‘कोशी’ प्रदेश नाम खारेजी । हरेक आन्दोलनका अगुवा पनि हुन् । २०६४ सालयताको लगभग हरेक चुनावमा उम्मेदवार बनेका छन् । चुनाव हो । हार जित हुन्छ । तर अस्तित्व र अधिकारका लागि लडाईँ लड्ने नेताको छवि बनाएका छन् ।
उज्यालो नेपाल पार्टीका ताप्लेजुङ उम्मेदवार (प्रत्यक्षतर्फ) कृतीमान मादेन मतदातासँगको गफगाफमा
मादेन यतिबेला मतदाताको घरदैलोमा पुगेका छन् । मादेनले भने,‘आमसभा छैन् । घरदैलो मात्र गर्छौ ।’ वडा वा पालिका र जिल्ला आमसभा किन नगर्नुभएको भन्ने जिज्ञासामा उनले भने,‘हाम्रो लागि समय अभाव मुख्य कारण हो । फेरी रास्वपासँगको एकीकरणले पनि तयारीमा केही समस्या भयो ।’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबिचको एकता दुई हप्ता नुपग्दै पुनः अलग भएको थियो । पाथीभरा याङवरक,सिरीजङगा र सिदिङवा गाउँपालिकास्थित विभिन्न वडामा पुगेर सोमबार सदरमुकामस्थित घर फर्किएको मादेनले बताए । यद्यपी यी तीनवटै गाउँपालिकाको सबै वडामा घरदैलो गर्न समय अभाव नै भयो । मादेनले भने,‘मंगलबार आराम गर्यौ । बुधबार साँघु जान्छौ ।’ मैवाखोला,मिक्वाखोला,आठराई त्रिवेणी गाउँपालिका र फक्ताङलुङ गाउँपालिका केन्द्रित घरदैलो गर्ने भएको छ ।
पैदलयात्रामार्फत मतदाताको घरदैलोमा निस्किएका कृतीमान मादेन
मतदातालाई भोट माग्दा के जवाफ पाउनुभयो भन्ने जवाफमा मादेनले भने,‘काग्रेस,एमाले,माओवादी लगायत पुराना दलको सट्टा नयाँलाई मत दिन्छौ भन्छन् ।’ नयाँ दल र उम्मेद्वार तपाईलाई भन्ने पुनः सोधिएको प्रश्नमा मादेनले हाँस्दै भने,‘मलाई मत दिन्न त भनेन । तर पुराना दल र उम्मेद्वारको सट्टामा हर्क साम्पाङ नेतृत्वको माटोलाई भोट दिन्छौ भन्छन् ।’ यद्यपी आफ्नो राजनीतिक अनुभव सुनाउँदै मादेनले भने,‘मतदाताले एउटा कुरा गर्छन् । भोट अर्कोतिर लगाउँछन् ।’ उज्यालो नेपाल पार्टी मन पराउनेहरुको संङख्यात्मक उपस्थिति अपेक्षा गरेभन्दा राम्रो पाएको उनले बताए । गाउँघरमा कुलमान घिसिङ भन्ने वित्तिकै लोडसेडिङ अन्त्य गर्ने व्यक्ति भनेर चिन्ने गरेका छन् । मादेनलाई जिल्ला अध्यक्ष प्रदीप मादेनले सहयोग गरेका छन् । प्रदेश सदस्य सरोज कङलिवा पनि साथैमा छन् । राष्ट्रिय परिवर्तन पार्टीका (बाँसुरी चिन्ह) कन्चन राईले पनि साथ दिएका छन् । मादेनले भने,‘यो चुनावमा यस्तै भयो । तर चुनाव त फेरी आउँछ । आउँदो चुनावमा राष्ट्रिय राजनीतिमा स्थापित हुनेमा ढुक्क छौ ।’
मतदाताको आँगनमा छलफल गर्दै कृतीमान मादेन