setoveda logo
४ वैशाख २०८३, शुक्रवार

देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

चैत १८, २०८२, बुधवार

चैत १८ गते । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कांग्रेस सभापति गगन थापा

कांग्रेस सभापति गगन थापा

गत शनिबार कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले त्यसलाई गम्भीर रुपमा लिएको जनाएको थियो । विशेष महाधिवेशनबाट कांग्रेस सभापति गगन थापा चुनिएको र त्यसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भएको थियो ।

मंगलबार त खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । शेखर कोइराला र शशांक कोइरालालाई दायाँवायाँ राखेर कार्यक्रम गरेपछि कांग्रेस रुष्ट छ । खड्काले चैत १९ गते जिल्ला सभापतिको भेला समेत बोलाएका छन् । त्यसैले यिनै विषयहरुमा आज अनुशासन समितिमा छलफल गर्न लागेको एक नेताले जानकारी दिए ।