setoveda logo
२१ जेठ २०८३, बिहिवार

देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ३१ वटा क्षेत्रमा महिला उम्मेदवार नै छैनन्

माघ २६, २०८२, सोमवार
निर्वाचन photo Onlinekhabar 

निर्वाचन photo Onlinekhabar 

माघ २५ गते । प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमा निर्वाचन हुँदैछ । प्रत्येक निर्वाचन क्षेत्रबाट एकरएक जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्य समूहका एक जना उम्मेदवार छन् । यो महिला उम्मेदवारीको संख्या ११।३९ प्रतिशत हो । १६५ वटा निर्वाचन क्षेत्रमध्ये ३१ वटा निर्वाचन क्षेत्रमा त महिला उम्मेदवार नै छैनन् ।

उम्मेदवारहरूको तथ्यांकअनुसार कोशी प्रदेश अन्तर्गतका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य छ । ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–१ र उदयपुर–२ मा महिला उम्मेदवार छैनन् । ताप्लेजुङ, पाँचथर, भोजपुरमा एउटारएउटा निर्वाचन क्षेत्र छ । ताप्लेजुङमा १३ जना, पाँचथरमा १५ जना र भोजपुरमा १२ जना उम्मेदवार छन् । उनीहरू सबै दलीय उम्मेदवार हुन् । कसैले पनि महिलालाई उम्मेदवार बनाएनन् ।

धनकुटामा पनि एउटा निर्वाचन क्षेत्र छ । यहाँ १७ जना उम्मेदवार छन् । यसमा १४ जना दलीय र तीन जना स्वतन्त्र उम्मेदवार छन् । सबै पुरुष उम्मेदवार हुन् । मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये मोरङ–२ र मोरङ–३ मा पुरुष मात्रै उम्मेदवार छन् । मोरङ–२ मा १७ जना उम्मेदवार छन् । १३ जना दलीय र चार जना स्वतन्त्र उम्मेदवार छन् । मोरङ–३ मा रहेका १८ जना उम्मेदवारमध्ये १६ जना दलीय र दुई जना स्वतन्त्र उम्मेदवार हुन् ।

खोटाङमा पनि महिला उम्मेदवार छैनन् । यो जिल्लामा एउटै निर्वाचन क्षेत्र छ र १५ जना उम्मेदवार छन् । त्यसमध्ये १३ जना दलीय र दुई जना स्वतन्त्र उम्मेदवार हुन् । उदयपुरमा दुई वटा निर्वाचन क्षेत्र छ । उदयपुर–१ मा १८ र उदयपुर–२ मा १३ जना उम्मेदवार छन् । दुवै क्षेत्रमा एकरएक जना स्वतन्त्र छन् भने बाँकी दलीय उम्मेदवार हुन् । उनीहरू सबै पुरुष हुन् । समग्रमा कोशी प्रदेशमा पुरुष उम्मेदवार ४३६ र महिला उम्मेदवार केवल ५८ जना छन् ।