चैत २ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् । समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताए ।
‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि मैले यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’ प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए । अहिलेको संविधानमा रहेको समाजवाद उन्मुख गणतन्त्रलाई वैज्ञानिक समाजवादसम्म पुग्ने लक्ष्यसहित चारवटै पार्टी मिलेर समाजवादी मोर्चा बनेको उनले बताए । अनलाइनखबर