पुष ११ गते । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा सक्रिय हुनका लागि भेटवार्तालाई तीव्रता दिनुभएको छ ।सोमवार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग लामो कुराकानी गरेपछि भेटघाटलाई तीव्रता दिएका मेयर शाहले विभिन्न व्यक्तिसँग भेटघाट गर्नुभएको हो । गएराति मेयर शाहले नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, तत्कालीन विवेकशील पार्टीका नेता मिलन पाण्डे, सञ्चारकर्मी सुरजसिंह ठकुरी, ऋषि धमला लगायतसँग छलफल गर्नुभएको थियो ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)
यसबीचमा मन्त्री कुलमान घिसिङ लगायतसँग भेट गरिसकेका मेयर शाहले आफ्ना सल्लाहकार कुमार बेनको ललितपुरमा रहेको घरमा बसेर रास्वपाका सभापति लामिछानेदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतसँग छलफल गर्नुभएको हो । शाहलाई भेट्नेहरूको लाइन लागेको छ । बालेनले नवयुवा प्रतिनिधि रक्षा बम, रास्वपा नेता शिशिर खनाल, नेता अमरेश सिंह, कांग्रेस नेता सुनिल शर्मा लगायतसँग भेट गर्नुभएको छ । बालेनसँगको छलफलमा सहभागीहरूले उहाँ देश विकास पार्टीको नेतृत्व आफैँले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने मनशाय पाएको बताएका छन् । लौरो चुनाव चिह्न पाएको देश विकास पार्टीको अध्यक्षमा अहिले सन्ध्या खनाल रहनुभएको छ ।