setoveda logo
४ वैशाख २०८३, शुक्रवार

दलका नेतालाई गृहमन्त्रीको सुझाव– पार्टीमा अरु पनि योग्य छन् भन्ने बोध गर्नुस्

असोज २९, २०८२, बुधवार

असोज २९ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले विस्थापित गरेका नेताहरूलाई आफ्नै पार्टीमा अरु पनि योग्य छन भनेर बोध गर्न सुझाएका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले विद्रोहले विस्थापित गरेकाहरूले सुशासन दिन नसकेको बोध गर्नुपर्ने बताए। ‘विद्रोहले जसलाई विस्थापित गरेको थियो, अपदस्त गरेको थियो तिनीहरूलाई बोध हुनुपर्‍यो हामीले सुशासनको सट्टा कुशासन दिएकाले यो परिस्थिति आएको हो,’ गृहमन्त्री अर्यालले भने, ‘पार्टीमा अरु पनि योग्य मान्छे छन् उनीहरूलाई नेतृत्व दिन्छौं, हामी स्थिति सामान्यीकरण गर्छौं भनेर सोच्नुपर्ने थियो १ तर, तिनीहरू नै अहिले डुक्रिन थालेका छन्।’

गृहमन्त्री ओमप्रकाश अर्याल

गृहमन्त्री ओमप्रकाश अर्याल

सरकारले शान्ति सुरक्षा कायम गरिराखेको गृहमन्त्री अर्यालले बताए । भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने प्रतिवद्धता पनि जनाए। दलहरूले शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै दिएको अभिव्यक्तिको जवाफमा गृहमन्त्री अर्यालको जवाफ आएको हो। अनावश्यक सुरक्षाकर्मी लिएकाहरूबाट सुरक्षाकर्मी फिर्ता भएपछि तिनले शान्ति सुरक्षाको कुरा गर्न थालेको उनको जिकिर छ।

‘जसले सुरक्षाकर्मीहरू दुरुपयोग गर्नुभएको थियो, मापदण्डविपरीत सुरक्षाकर्मी लानुभएको थियो, बर्दीधारीलाई घरमा भान्से, पिएसओलाई ड्राइभर बनाउनुभएको थियो, अरु काममा पनि लगाउनुभएको थियो, ती सबै फिर्ता भएपछि उहाँहरूले शान्ति सुरक्षा भएन भन्नुभएको रहेछ,’ अर्यालले भने। व्यक्तिगत रूपमा कसैलाई सुरक्षा थ्रेट भए निवेदन दिन सकिने भन्दै उनले निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा कदम चालिने बताए।