मंसिर २३ गते । दक्षिण कोरियाको एक अदालतले फुटबल स्टार सन ह्युङ–मिनलाई ब्ल्याकमेल गर्ने एक महिलालाई चार वर्षको जेल सजाय सुनाएको छ । २० वर्षीया महिलाले इङ्ग्लिस क्लब टोटेनह्यामका पूर्वकप्तानसमेत रहेका ३३ वर्षीय सन ह्युङलाई आफ्नो पेटभित्र उनको बच्चा रहेको भन्दै ब्ल्याकमेल गरेको आरोपमा सियोल जिल्ला अदालतले दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।
फुटबल स्टार सन ह्युङ–मिन
ती महिलाले फुटबलरबाट २ लाख अमेरिकी डलर जबरजस्ती असुलेको र आफूले भने अनुसारको नगरेमा आरोप सार्वजनिक गर्ने धम्की दिएकी थिइन् । समाचार एजेन्सी एएफपीका अनुसार ती महिलाले ती पैसा विलासिता र डिजाइनरका सामानहरूमा खर्च गरेकी थिइन् । यस्तै सन ह्युङ–मिनलाई पैसा दिन १५ पटकसम्म धम्की दिने ती महिलाको सहयोगीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । यस वर्ष उनीहरूले थप पैसा मागेपछि सन ह्युङ प्रहरीकोमा गएका थिए ।