setoveda logo
४ वैशाख २०८३, शुक्रवार

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

जेठ १४, २०८२, बुधवार
बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा रहेको सुजन कोइरालाको घरमा तीनजनाको हत्या भएको घटना 

बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा रहेको सुजन कोइरालाको घरमा तीनजनाको हत्या भएको घटना 

जेठ १४ गते । बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा रहेको सुजन कोइरालाको घरमा केही दिन यता किचन र्‍याक बनाउने काम भइरहेको थियो । र्‍याक बनाउने मिस्त्री सधैं झैं बुधबार पनि बिहानै कोइरालाको घरमा पुगे, र भित्र पसे । तर, घरभित्रको अवस्था भने भयावह थियो । रक्ताम्य अवस्थामा भुइँमा तीन जना ढलेका थिए । घाँटी रेटिएको, आलो रगत गन्हाएको, घरपर भुइँ र कपडामा समेत रगतले भिजेर कट्कटिएका थिए । एक महिला र दुई बच्चा (बालिका) भुइँमा ढलेको देखेपछि मिस्त्रीले काम सुरु गरेनन् । फुत्त घरबाट बाहिर निस्किए, अनि वरपरका स्थानीयलाई खबर गरे ।

उनै मिस्त्रीले प्रहरीलाई पनि खबर गरे । मिस्त्रीबाट माथि उल्लेखित सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा एसपी प्रदीप क्षेत्रीले बताए । प्रहरी घटनास्थल पुग्दा तीन जना भुइँमै ढलेका थिए । शरीर चिसो भइसकेको थियो । प्रारम्भिक अनुसन्धानमै तीन जनाको हत्या भएको निष्कर्ष निकाल्न प्रहरीलाई गाह्रो भएन । उक्त घरधनीबारे सोधीखोजी गर्दा सुजन कोइराला एक्लै बस्दै आएको खुल्यो ।

३५ वर्षीय कोइराला त्यतिबेला पनि घरमै थिए । उनलाई नियन्त्रणमा लिएर सामान्य सोधपुछ गर्ने बित्तिकै उनले हत्या स्वीकारे । त्यसपछि प्रहरीले उनलाई अहिले हिरासतमा लिएको छ । तीन जनाको हत्यामा रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने एसपी क्षेत्रीले बताए ।

दाइ मारेर जेल

रुपन्देही प्रहरीको हिरासतमा रहेका कोइरालाको पृष्ठभूमि आपराधिक छ । उनी पक्राउ परेपछि प्रहरीले विगत केलाउँदा यसअघि पनि हत्यामा जेल परेर निस्केका व्यक्ति रहेको खुलेको हो ।

उनले २०६९ सालमा आफ्नै सहोदर दाजुको हत्या गरेको पाइएको एसपी क्षेत्रीले बताए । सामान्य विवाद हुँदा उनले दाजुको हत्या गरेका थिए ।

दाइको हत्यामा उनलाई रुपन्देही जिल्ला अदालतले २० वर्ष कैदको सजाय सुनाएको थियो । यो मुद्दा भने उच्च हुँदै सर्वोच्चसम्म पुगेको थियो ।

सर्वोच्चले उने कोइरालाको कैद अवधिलाई १६ वर्षमा झारिदियो । सर्वोच्चबाट १६ वर्ष कैद सजाय तोकिएका कोइराला भने ९ वर्ष मात्रै जेल बसेर छुटे । ५० प्रतिशत कैद भुक्तान गरेको र असल चालचलन भएको भन्दै संविधान दिवसको अवसरमा २०७८ सालमा उनी कैद मुक्त भएका थिए । प्रहरीका अनुसार असल चालचलन रहेको भन्दै संविधान दिवसको दिन कैद मिनाह पाएर छुटेका उनै कोइरालाले पूर्वपत्नीसहित दुई छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

छुटेपछि पूर्वपत्नी र २ छोरीको हत्या

दाइको हत्या गरेकै साल २०६९ मा कोइरालाले दीपा बस्यालसँग विवाह गरेका थिए । उनीसँग विवाह गरेको केही समयमै दाइको हत्या अभियोगमा जेल गए । बिहे गरेलगत्तै जेलपछि दीपा र सुजनको वैवाहिक सम्बन्ध पनि लामो समय गएन । प्रहरीका अनुसार उनीहरूले २०७२ मा सम्बन्ध बिच्छेद गरे । त्यसपछि दीपाले दोस्रो विवाह गरिन् । दोस्रो श्रीमान् पक्षबाट दीपाले दुई छोरीको जन्म दिएकी थिइन् । अहिले जेठी छोरी स्नेहा ७ वर्ष र कान्छी छोरी हिमानी ४ वर्षका भएका थिए ।

तर उनीहरू तीनै जना ९दीपा र दुई छोरी० को पूर्वपती सुजनले निमर्मतापूर्वक हत्या गरे । प्रहरी स्रोतका अनुसार दीपा र सुजन पछिल्लो समय भने नजिकिएका थिए । हत्याको अघिल्लो दिनभरि उनीहरूले घुमघाम गरेको प्रहरी स्रोत बताउँछ । अनि त्यसराति दीपा र उनका दुई छोरीलाई आफ्नै घरमा बस्न भनेपछि सबै जना सुजनको घरमा बसेका थिए । तर बिहानीपख ४ बजेतिर भने सुजनले तीनै जनाको हत्या गरेको पाइएको प्रहरीले बताएको ।

तीनै जनालाई घाँटीमा चक्कु प्रहार गरेको देखिएको प्रहरीले बताएको छ । घाँटीमा चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएपछि ह्याम्बरले टाउकामा समेत प्रहार गरेको देखिएको प्रहरीले बताएको छ । हत्या गरेको सुजनले स्वीकार पनि गरेका प्रहरीले बताएको छ । हत्यापछि उनी घरबाटै कतै नभागी घरमै बसेका थिए । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । हत्या किन गरे भन्नेबारे अहिलेसम्म यकिन कारण भने खुलिनसकेको एसपी क्षेत्री बताउँछन् । ‘हत्या स्वीकारेका छन् । तर के कारणले हत्या भयो भन्ने खुल्न बाँकी छ’ एसपी क्षेत्री भन्छन् । सुजन अहिले इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् । शव भने पोस्टमार्टम गरेर आफन्तलाई बुझाइने प्रहरीले बताएको छ । -अनलाइनखबर