setoveda logo
४ वैशाख २०८३, शुक्रवार

थेचम्बुमा भालुको आक्रमणबाट घरधनीको ज्यान बचाउन कुकुरको योगदान

मंसिर १०, २०८२, बुधवार
भालुको तस्बिर । गुगलबाट सौजन्य

भालुको तस्बिर । गुगलबाट सौजन्य

मंसिर १० गते । पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुकी उर्मिला खरेल लिम्बु मंगलबार विहान घरमुनीको बारीमा निस्किएकी थिईन् । त्यो बेला विहानको करिब ११ बजेको थियो । घरमुनीको बारीमा अम्बा (अम्बक) र किबी लटरम्म फलेको छ । बारीमा पुगेर यताउता हेर्न नपाउँदै एक्कासी भालुले आक्रमण गर्यो । ३५ वर्षीया लिम्बुले चिच्याउँदै प्रतिकार गर्न थालिन् । लगत्तै घरको कुकुर भुक्दै आयो र भालुलाई झम्टन थाल्यो । भालुले कुकुरसँग प्रतिकार गर्न थाल्यो । त्यही मौकामा लिम्बु भाग्न सफल भईन् । उनको पाखुरा र खुट्टामा चोट लागेको छ । मंगलबार जिल्ला अस्पतालमा उपचार गरेर घर फर्किएकी छिन् । गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङ्वोका अनुसार लिम्बुको ज्यान बचाउन कुकुरले साथ दिएको छ । अध्यक्ष मेन्याङ्वोले घाइतेलाई उदृतगर्दै भने,‘धन्न ! कुकुरले भालुलाई आक्रमण गर्न थालेपछि ज्यान बचाउन संम्भव बन्यो ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जट्टाशंकर यादबका अनुसार घाइते लिम्बुको अवस्था सामान्य छ । घरको रेखदेख र शोखका लागि मानिसले कुकुर पाल्ने गर्छ । हुनतः वन्यजन्तुको शिकार गर्न पनि कुकुर पाल्ने चलन हुन्छ । तर थेचम्बुमा उर्मिलाको परिवारले पालेको कुकुरले घरको रेखदेख मात्र होईन, ज्यान नै बचाउन सहयोग पुर्याएको प्रष्ट हुन्छ । मानिससँगको सामीप्य,उपयोगिता र वफादारिताका कारणले मानिसको सदैव प्रिय जनावरका रुपमा कुकुरलाई हेरिन्छ ।