setoveda logo
४ वैशाख २०८३, शुक्रवार

त्यो सेतो धोक्रो भित्र काग्रेस उम्मेद्वार तुम्याङलाई चुनाव खर्च वापत एक मन अलैची

फागुन १, २०८२, शुक्रवार

फागुन १ गते । विहिवार साँझको समय थियो । चुनाव केन्द्रित भेटघाट कार्यक्रमका लागि नेपाली काग्रेसको टोली मेरिङदेन गाउँपालिकास्थित लिङ्तेपमै थियो । लिङतेप काग्रेसको गढ मानिन्छ । पूर्व मन्त्री प्रताप प्रकाश हाङगाम,कोशी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री खगेनसिंह हाङगाम र गाउँपालिका अध्यक्ष युक हाँ वीर हाङगाम (डम्बर), विश्व नाल्बो र वेद हाङ्गाम लगायतको क्षेत्र पनि यहि हो । लिङ्तेपका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा कार्यक्रम सुरु भयो । लगत्तै स्थानियले भने,‘चुनाव खर्च उपहार छ । कति बेला दिउ ?’ पाटी सभापति तथा उम्मेद्वार गजेन्द्र तुम्याङले कुराको भेउ पाएनन् । छेउमै भएका समानुपातिक उम्मेदवार गीता सेन्दाङलाई सोधे । तर सेन्दाङलाई पनि थाहा थिएन् । पूर्व मन्त्री हाङगामले हाँस्दै भने,‘केही विशेष छ । मैले जानकारी पाएको छु । केहीवेरमा थाहा भइहाल्छ नि !’ कार्यक्रम निरन्तर चलिरह्यो । कार्यक्रमको अन्त्यतिर काग्रेस केन्द्रिय सदस्य लीलादेवी बोखिमले भनिन्,‘यति मीठो सहयोग पाउँदैछौ । धेरै धन्यवाद !’ सेतो धोक्रोमा ‘नेपाली काग्रेस वडा कार्य समिति लिङतेप’ लेखिएको थियो । त्यो सेतो धाक्रोभित्र सुकेको अलैची थियो । पार्टी सचिव डम्बरसहित सबैले ल्याएर ४० केजी सुकेको त्यो अलैचीको धोक्रो दुवै उम्मेद्वारलाई प्रदान गरे । सबैले तालीमार्फत धन्यबाद ज्ञापन गरे । स्थानियले भने,‘चुनाव खर्च हो । हामीसँग जे थियो । त्यही दियौ । अग्रिम जितको शुभकामना !’ अनि नेता कार्यकर्ताले मोबाइलमा तस्बिर र भिडियो कैद गर्न थाले । ‘साथ र सहयोगको लागि कृतज्ञ छु ।’– उम्मेद्वार तुम्याङले थपे,‘जन्ती मलामी गर्दै राजनीतिमा सक्रिय छु । तसर्थ ताप्लेजुङबासीको माया पाउनेमा ढुक्क छु ।’