विद्यार्थी
पुस १० गते । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्नातकदेखि विद्यावारिधि उपाधि प्राप्त गरेका ८९ हजार १ सय ९१ जना विद्यार्थीलाई दीक्षित गर्दै छ । दशरथ रंगशालामा हुने ५१औं समारोहमा सहभागी हुन भने १६ हजार ३ सय ८० जना विद्यार्थीले आवेदन दिएका छन् ।
दीक्षित हुने र समारोहमा सहभागी हुने विद्यार्थीको संख्या सबैभन्दा बढी व्यवस्थापन संकायको छ । गत शैक्षिक सत्रमा ४३ हजार ६ सय १० जनाले व्यवस्थापनमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधि हासिल गरेका थिए । तीमध्ये दीक्षान्त समारोहमा ७ हजार ८ सय ४९ जना सहभागी हुँदै छन् । शिक्षाशास्त्र संकायमा दीक्षित हुनेको संख्या १६ हजार ४ सय ६७ रहेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तीमध्ये १ हजार ५ सय ३५ जनाले दीक्षान्त कार्यक्रममा सहभागी हुन आवेदन दिएका छन् ।