setoveda logo
३ साउन २०८३, आइतवार

ट्रम्पले इरानलाई दिएको अल्टिमेटम १० दिन बढाए

चैत १३, २०८२, शुक्रवार

चैत १३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्। इरानसँग वार्ता भइरहेको भन्दै ट्रम्पले इरानी ऊर्जा संरचनामा हमला गर्ने निर्णय थप दिनका लागि स्थगित गरेको भनेर आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा लेखेका छन्। ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्नका लागि गत शनिबार ४८ घन्टाको अल्टिमेटम दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

४८ घन्टे अल्टिमेटमपछि ट्रम्पले इरानलाई पाँच दिनभित्र हर्मुज नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका थिए। त्यसको समयावधि सकिन लागेपछि ट्रम्पले ऊर्जा संरचनामा प्रहार गर्ने योजना अप्रिल पहिलो सातासम्म लम्ब्याएका हुन्। ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गरे मध्यपूर्वका सबैखाले पूर्वाधारमा आक्रमण गर्ने धम्की इरानले यसअघि नै दिएको थियो। यसबीच पाकिस्तानी अधिकारीहरूले मध्यस्थकर्ताको भूमिका खेल्दै युद्धविरामको प्रयत्न गरिरहेको छ। ट्रम्पले वार्ता सकारात्मक रहेको पनि बताएका छन्।