फागुन २४ गते । जिल्लाको सदरमुकाम फुङलिङमा २१५२औ ग्याल्पो ल्होसारको अवसरमा सद्भाव र्याली निकालिएको छ । र्यालीले बजार परिक्रममा गरेर होटल जानु इनको हलमा औपचारिक कार्यक्रम गरेको छ । ल्होसार शुभकामना आदानप्रदान तथा एकआपसमा खुसी साटासाट गरेर पर्व मनाइएको छ । फागुन १४ गते नै तय भएको कार्यक्रम केवलकार विवादका कारण निषेधाज्ञा जारी गरेको बेला समस्या हुने भएकाले कार्यक्रम सारिएको हो ।
नेपाल शेर्पा सँघ अध्यक्ष पासाङरीता शेर्पाका अनुसार खुल्ला ठाउँ अभावले होटलको हलमा कार्यक्रम आयोजना गरेको हो । अध्यक्ष शेर्पाले भने,‘खुल्ला मञ्च अभाव छ । त्यही भएर होटलकै हलमा गर्नुपर्यो ।’ फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले केवलकारको विवादले चौतर्फी समस्या भएको बताए । मादेनले भने,‘केवलकार बन्छ । विरोध र समर्थन गर्न पाउनु नागरिक अधिकार हो ।’
ल्होसारको शुभकामना व्यक्त गर्दै मादेनले सबै जातजातिको धर्म,संस्कार र संस्कृति संरक्षणमा नगरपालिकाले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । विभिन्न सँघ संस्थाका प्रमूख तथा प्रतिनिधि लगायत जनप्रतिनिधि सहभागी थिए । कार्यक्रममा शेर्पा समुदायको मौलिक भेषभुषामा आएका कलाकारले गायन तथा नृत्य समेत प्रस्तुत गरेका छन् ।