ताप्लेजुङको माया र सम्मानको सम्झना स्वरुप तस्बिर कैद गर्दै मन्त्र व्याण्ड
सँधै सधैँ आइरहन्छ
तिम्रो यादहरु
यो मन एक्लै गुनगुनाउँछ
अतितका ती धुनहरु...
यो गीतको लोकप्रियता भनिसाध्य छैन् । अनि मन्त्र व्याण्ड भन्नेवित्तिकै यहि गीतको याद पनि त आउँछ । होइन र ? हो, यही मन्त्र ब्याण्ड र यहि गीतको प्रतिक्षामा थियो, ताप्लेजुङ । हुनतः कार्यक्रम दशैको बेला नै तय थियो । तर भदौ २३ र २४ गते जेन्जी आन्दोलनले कार्यक्रम हुने/नहुने अन्यौल थियो । जेनजी आन्दोलनलगत्तै झरिले मेची राजमार्गको समस्या पनि थपियो । ङा वोरक सङजम्बो र मातृभूमि ब्याण्डका लागि टाउको दुखाईको विषय बन्यो । तैपनी हार मानेन । किनकी आयोजकसँग वहाना थिएन, स्प्रष्ट योजना थियो । कार्यक्रम संयोजक तारानाथ बरालको घरको माथिल्लो तल्लामा छलफल चल्यो । छलफलको निर्णय थियो,– मंसिर २ गते कन्सर्ट गर्ने । उही मन्त्र व्याण्डको साथमा । कार्यक्रम गर्न जति–जति समय नजिकियो । उति–उति समय पनि अनुकल बन्दै गयो । पवित्र उदेश्य भए समयले पनि त साथ दिदोरै’छ भन्ने आभास हुन थाल्यो । अन्ततः मंसिरको पहिलो दिन मन्त्र व्याण्डको टोलीले सदरमुकाममा पाइला टेक्यो । आयोजक टोलीले होटलमै पुगेर खादासहित स्वागत गर्यो । स्वागत सम्मानको तस्बिर सामाजिक संञ्जालमा पोस्ट भयो । भोलीपल्ट ब्याण्ड टोली साउण्ड सिस्टम चेकजाँच गर्न फिल्डमा पुग्यो । अनि सामाजिक सञ्जालमा दर्शकलाई निम्तो दिदैँ लेख्यो,– हामी तयार छौ । आउनुहोला ।
भानु जन माविको मैदानमा दर्शकले मोबाइलको टर्च बालेको दृश्य
हिउँदको महिना । साँझको समय । मंसिरे जाडो । साँझ विहान शरिरमा काडा उमार्छ । तर कन्सर्ट कार्यक्रममा जाडो भगाउने तागत मिल्छ । कि कसो ? सुन्दर साउण्ड सिस्टममार्फत गीत बज्न थाल्यो । जतिबेला साँझको ६ बजेको थियो । उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम कार्यक्रमस्थल प्रवेश गरे । मन्त्री हाङ्गामले भने,‘तपाईहरुले नै फोन गरेर ६ बजेमात्र आउनु भन्नुभयो । त्यही भएर समयमै आए ।’ मन्त्री हाङ्गामले थपे,‘जाडो छ । समयमै कार्यक्रम सक्नुपर्छ है !’
अग्रजलाई सम्मानपश्चात तस्बिर कैद गर्दै प्रमूख अतिथि,विशिष्ट अतिथि,अतिथि र आयोजक ।
कार्यक्रम दुई चरणको थियो । पहिलो उद्घाटन । दोश्रो सांगीतिक प्रस्तुती । उद्घाटनसँगै प्रमूख अतिथि र अध्यक्षको सक्षिप्त मन्तव्य समावेश थियो । स्वागत नृत्य र अग्रज कलाकार सम्मान पहिलो चरणमै थियो । तर कार्यक्रम तालिकाअनुसार स्थानिय कलाकार समयमै कार्यक्रमस्थलमा उपस्थित हुन सकेनन् । एकातिर समय घर्किदै थियो । अर्कोतिर समयमै कार्यक्रम सम्पन्न गर्न चुनौती पनि थपिदै थियो । उद्घाटन र कलाकार सम्मानको बेलासम्म दर्शकको त्यति धेरै उपस्थिति थिएन् । कुलदिप मादेन भन्दै थिए,–‘स्थानिय कलाकारले कार्यक्रमकै लागि मेहनत गरेका हुन्छन् । थोरै दर्शकमाझ प्रस्तुती गर्दा उनीहरुलाई पनि त नमज्जा हुन्छ नि !’ उनको कुरा सहि हो । तर कलाकारले दर्शक पर्खिए पनि समयले त दर्शकलाई पर्खदैनथ्यो । त्यही भएर एकपछि अर्को गर्दै प्रस्तुतीलाई रफ्तारमा बढाउनु पर्ने धपेडी खेप्नुपर्यो । यसैपनि कार्यक्रममा केही ढिलाई भएकै थियो ।
अग्रज गायक सुरोज मादेन कार्यक्रम सञ्चालिकाद्धय गंगा र जमुना लिम्बुसँग तस्बिर कैद गर्दै ।
आयोजकले दाता र दर्शकलाई खूसी बनाउन सक्नु चानचुने कुरा पटक्कै होइन् । भोग्नेलाई राम्रोगरि बुझेका हुन्छन् । अझ आयोजकले औपचारिक कार्यक्रममा समय खर्चनुपर्ने नै हुन्छ । ठीक विपरीत दर्शकलाई प्रस्तुती हेर्न हतारो हुन्छ । अग्रज कलाकार सम्मान,मायाको चिनो वितरण र मन्तव्य क्रमबद्ध रुपमा हुन थाल्यो । याक्थुङ स्टार सिजन–२ विजेता रविन लेछर्बो,गायक सावला मादेन, चन्द्र चोङवाङ,सुरोज मादेन र मातृभूमि ब्याण्डको प्रस्तुती सकिदा करिब साढे ९ बजेको थियो । सुरोज मादेनको लोकप्रिय ‘ताप्लेजुङको तोङ्बा सुकुटी’ बोलको गीतमा प्रमूख अतिथि र सम्मानित अग्रज कलाकारले स्टेजमै नृत्य प्रस्तुत गरे । त्यो क्षणले कार्यक्रमको कद बढाउन मदत पुग्यो । प्रिती थलङ र हिमाल बराइलीको एकल नृत्य समावेश थियो । न्यू क्रिएसन डान्स सेन्टरले स्वागत नृत्य प्रस्तुत गर्यो । ‘हान्द्रुङ ब्वाइज’को अर्गानिक भिडियो कन्टेन्ट उद्घोष गरेपनि प्राविधिक कारण देखाउन असम्भव बन्यो । कार्यक्रम प्रस्तोताको भुमिकामा गंगा र जमुना लिम्बुको पहिलो कार्यक्रम थियो । अग्रज गायक तथा संगीतकार भरत गुरुङ,माधव प्रधान,गणेश सेनेहाङ,राजु खवास,रीता सुब्बा,शंकर श्रेष्ठ,रमेश सिँवा र सुरोज मादेनलाई सम्मान गर्दाको क्षण गर्व गर्न लायक बन्यो । फेसबुक लाइभमा कमेन्ट गर्नेको सल्लाह थियो,–सम्मानको बेला अग्रजको गीतहरु पृष्ठभूमिमा बजेको भए सुनमा सुगन्ध हुने थियो । सम्मान पत्रको हेडिङमा लेखिएको छ,–तपाईहरुको साधनाले हाम्रो मनमा सांस्कृतिकक रंगको नयाँ फूल सधैँ फुलिरहोस । सम्मानित अग्रजको योगदानबारे अझ समय निकालेर चर्चा गर्न पाएको पाए झनै गज्जब हुने थियो । खैर, यो सुरुवात हो, अन्त्य होइन् ।
कार्यक्रममा सम्मानित भएका अग्रजहरु ।
भनिन्छ, प्रतिक्षाको फल मिठो हुन्छ । कार्यक्रमको अन्त्यतिर माहौल एक्कासि तात्तियो । साँच्चिकै रमाइलो भयो । रमाइलो नहोस पनि कसरी ! किनकी त्यो प्रस्तुती अरु कसैको थिएन्, । चिरपरिचित मन्त्र व्याण्डको थियो । रङ्गीनमय साँझ साँच्चिकै संगीतमय बन्न थाल्यो । लाग्थ्यो,–भानु जन माविको मैदानमा गुन्जिएको संगीतले सिंगो जिल्लाबासी रमाइरहेका होलान् । एकपछि अर्को गर्दै ८ वटा गीत गाए । म्यूजिकको आवाज कहिल्यै रोकिएन् । रङ्गिन लाइटहरु निभेको जस्तो लाग्थ्यो । उनीहरुले त्यो क्षण हातको माइक अफ गर्थे । अनि एकआपसमा कुराकानी गर्न भ्याउँथे । क्षणभरमै तालमेल मिलाएको महसुस हुन्थ्यो । उनीहरु कहिले पानी पिउँथे । कहिले दर्शकतिर हेर्दै मुसुक्क मुस्कुराउँथे । दर्शकले पनि मातृभूमि व्याण्डको प्रस्तुतीमा वार्म अप गरिसकेका थिए । त्यही भएर भुईँमा बुरुक बुरुक उफ्रदै गाउँदै नाच्न व्यस्त बने । मोबाइलको टर्च बलेकाले मैदानको दृश्य झिलीमिली थियो । नढाटी भनौ, दर्शकले मन्त्रलाई मीठोगरि साथ दिए । ब्याण्ड पनि के कम । ताप्लेजुङका युवा युवतीको यति मीठो साथलाई शब्दमार्फत मुक्तकण्ठले प्रंशसा गरे । भोकलिष्ट भास्कर देवानले भने,‘पवित्र ठाउँ ताप्लेजुङका दर्शकहरु ! तपाईहरु साँच्चिकै हेन्डस र ब्यूटीफुल !’ अनि मन्त्रले जादाँजादै पनि भन्यो,‘थ्याङक यू ताप्लेजुङ । फेरि भेटौला !’ तर दर्शकहरु भन्दै थिए,–वान्स मोर ! वान्स मोर !
मातृभुमि व्याण्डका म्यानेजर किरण मादेनबाट प्रंशसा पत्र ग्रहण गर्दै कलाकार हिमा बराइली ।
मन्त्रको गीतमा नेपालीपन छ । माटोको सुगन्ध छ । वीर गोर्खालीको कथा छ । इमान्दार नेपालीको पहिचान छ । शब्दमार्फत नेपाल र नेपालीको बयान छ । त्यही भएर मन्त्र व्याण्डप्रति हरेक नेपालीमा अपनत्वको भावना छ । ‘वीर वीर गोर्खाली’ र भर्खरै ल्याएको ‘हो म नेपाली’ नेपालीले गर्व गर्न लायक छ । जब प्रस्तुती सकियो तब स्टेजमा फोटो खिचाउन फ्यानहरु उक्लिन थाले । रात छिप्पिएकाले दर्शकले केहीसमय मात्र तस्बिर खिच्ने मौका पाए । अघिसम्म दर्शकले भरिएको मैदान क्षणभरमै खाली भयो । गीत संगीतले गुन्जयमान मैदानमा प्रहरीले सिटी बजाउन थाल्यो ।
कार्यक्रम प्रस्तोता देवराज गुरुङले मन्त्र व्याण्डको प्रस्तुती सकिएलगत्तै भन्दै थिए
सधैँ सधैँ आइरहन्छ
मन्त्र व्याण्डका यादहरु
ताप्लेजुङले सम्झिरहनेछ
सामुदायिक भवन बनाउन मन्त्र व्याण्ड र दर्शकले दिएका साथहरु ।
नोटः मातृभमी ब्याण्डको १५औं वार्षिकउत्सवको अवसरमा ङा वोरक सङजम्बोको आयोजनामा सामुदायिक भवन निर्माण गर्न जग्गा खरिदका लागि कार्यक्रम आयोजना भएको हो ।