जेठ ८ गते । नेपाली काग्रेस जिल्ला कार्य समिति ताप्लेजुङले प्रत्येक स्थानिय तहमा घुम्ती बैठक गर्ने निर्णय कार्यान्वयन गरेको छ । चुनावका बेला मात्र नभई बैठक बस्न समेत गाउँ–गाउँ पुग्न सके पार्टी र जनताको वास्तविकता बुझ्न मदत पुग्ने आशाका साथ काग्रेसले घुम्ती बैठकको सुरुवात गरेको हो । उक्त निर्णयप्रति कार्यकर्ता र शुभेच्छुकले खूसी प्रकट गरेका छन् । पार्टी सचिव युक हाँ वीर हाङगामले (डम्बर) भने,‘नेता कार्यकर्ता चुनावको बेला मात्र होइन । अरु बेला पनि गाउँ–गाउँ पुग्नुपर्छ । तब मात्र वास्तविकता थाहा हुन्छ ।’
बुधबार बसेको पहिलो घुम्ती बैठकले वर्खायामसँगै विपदका घटनामा उद्धार तथा सहयोगमा सक्रियता बढाउनेदेखि पार्टी संगठन विस्तार गर्ने लगायत चार बुँदे निर्णय गरेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले यो वर्ष सरदर भन्दा बढि वर्षा हुने अनुमान गरेको छ । विपदबारे सावधानी अपनाउन जनचेतनामुलक कार्यक्रमदेखि घटना भए उद्धार र सहयोगमा उत्तिकै सक्रियता बढाउने निर्णय गरेको काग्रेसले जनाएको छ । काग्रेस महासमिति सदस्य शिला इजमका अनुसार पार्टी संगठन विस्तारका लागि रणनीतिक योजना आ–आफ्नो तहको भूमिका,पार्टी प्रवेश गर्नेको व्यवस्थापन,मेरिङदेन गाउँपालिकाको क्रियाशिल सदस्यको अवस्था र स्थानिय सरकारको प्रभावकारीता र सुशासन सम्बन्धि सुझाव बैठकको एजेण्डा थियो ।
महासमिति सदस्य इजमले भनिन्,‘एजेण्डासहितको बैठकमा मसिनो गरि छलफल त हुन्छ नै । तथापी राजनीतिसँगै जनताको दैनिकीमा कसरी सहयोगी हुने भन्नेमा पनि उत्तिकै चासो हुन्छ ।’ सभापति गजेन्द्र प्रसाद तुम्याङले वास्तविकताको धरातल बुझ्न बैठक उपयोगी भएको बताए । सभापति तुम्याङले भने,‘झट्ट सुन्दा गाउँ–गाउँमा बैठक भएछ जस्तो लाग्न सक्छ । तर कार्यकर्ता र सर्वसाधारणले आँगनैमा सुख दुखका कुरा पोख्न पाउँछन् ।’ नेता कार्यकर्ताका अनुसार स्थानिय तहमै पुगेर बैठक बस्दा पार्टीको मात्र नभई विविध विषय बुझ्न सहज हुन्छ ।
बैठकमा मेरिङदेन गाउँपालिकामा महिला सँघको सदस्यताका लागि ३ सय २२ जनाको नाम समावेश भएको विवरण सार्वजनिक गरेको छ । महिला सँघ जिल्ला सचिव अन्जना कडरियाले सदस्यता संख्याबारे जानकारी दिए । कार्यक्रममा सभापति तुम्याङसहित उपसभापति डिल्लीरमण बराल र सचिवद्धय युक हाँ वीर हाङगाम (डम्बर),सञ्जयबाबु निरौला (गणेश), महासमिति सदस्य शिला राई,विश्वराज नाल्बोले पार्टीको रणनीतिबारे प्रकाश पारे । जिल्ला सदस्य उदय आङवुहाङ,बेद हाङगाम,सुरेन्द्र बस्नेत,भुमि आयोग जिल्ला अध्यक्ष कृष्ण कुमार बस्नेत, स्ववियू सभापति तिल कुमार जोगी, मेरिङदेन गाउँपालिकाको ६ वटै वडाका वडासभापति,महिला सँघ उपाध्यक्ष मात्रिकादेवी प्रसाई र सचिव अन्जना कडरिया र खेलकुद विभाग संयोजक प्रेमहित लङवा लगायतले समसामयिक विषयमा धारणा राखे । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त वहादुर कार्कीले विकास निर्माणको काममा जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । यसैबिच मेरिङदेन गाउँपालिका किसान सँघ समेत गठन भएको छ । ६ वटै वडाका तरुण दलका नवगठित अध्यक्षलाई प्रमाणपत्र समेत प्रदान गरेको छ । काग्रेसको मासिक बैठक हरेक महिनाको ७ गते बस्ने गरेको छ । अर्को बैठकको स्थान तय गरेको छैन् । बर्खायाम सुरु भएकाले विपदजन्य घटना नभए तत्कालै स्थान तोक्ने भएको छ ।