setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा एसईई परीक्षामा २ हजार ९ जना विद्यार्थी, ११ वटा परीक्षा केन्द्र

चैत १८, २०८२, बुधवार
शिक्षा विकास तथा समन्वय इकाइ

शिक्षा विकास तथा समन्वय इकाइ

चैत १८ गते । जिल्लास्थित यस वर्षको एसईई परीक्षामा २ हजार ९ जना विद्यार्थी सहभागी हुँदैछन् । चैत्र १९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षामा नियमित १ हजार ३ सय ४०, ग्रेड बृद्धिकालागि ५ सय ४७, प्राविधिकतर्फ नियमित १ सय ३ र ग्रेड वृद्धिका १९ गरी २ हजार ९ विद्यार्थी हुनेछन् । परीक्षाका लागि ११ केन्द्राध्यक्ष तोकिएको छ । जसमा दुईजना महिला र बाँकी पुरुष रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश्‍वर भट्टराईका अनुसार अधिकांश विद्यालयमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहेका छन् ।

फुङलिङ नगरपालिकाका भानुजन माविमा किशोर कुमार राई, दोखुस्थित युवा वर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल, बाल सुबोधिनी संस्कृत मावि मेदीबुङमा शान्तिराम नेपाल र सिद्वकाली मावि दोखुमा अमरकुमार राई रहेका छन् । सिरिजङ्गा गाउँपालिकाको सिनाम माविमा तुलसीराम पोख्रेल र तेल्लोक माविमा रुकमान थेवे तथा आठराईत्रिबेणी गाउँपालिकाको सरस्वती मावि हाङपाङमा चन्द्रकुमार तामाङ तोकिएका छन् । फक्ताङलुङ गाउँपालिकाको सिवा मावि लिङ्खिम निर्मला तामाङ, मेरिङदेन गाउँपालिकाको त्रिभुवन मावि थुकिम्वामा कमल चेम्जोङ, सिदिङ्वा गाउँपालिकाको भन्ज्याङ मावि लिम्बूदिनमा राजेन्द्र इदिङ्गो र पाथीभरा याङवरक गाउँपालिकाको थेचम्बु माविमा पुष्पादेवी खरेललाइ तोकिएको इकाइले जनाएको छ ।

सिवा र थेचम्बु माविका केन्द्राध्यक्ष महिला तथा वासुसं मावि र सिनाम माविका केन्द्राध्यक्ष वरिष्ठतम शिक्षक हुन् । सिनामका प्रअ महेन्द्र प्रकाश गौतम र वासुसंका युवराज बस्नेतले बस्न अनिच्छा देखाएपछि वरिष्ठतमलाई राखिएको इकाइले जनाएको छ । तोकिएको केन्द्रका प्रधानाध्यापक वा वरिष्ठतमलाई केन्द्राध्यक्ष दिन सकिने प्रावधान रहेको छ ।