setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङ–टिप्तला सडक कालोपत्र गर्न चीनसँग औपचारिक प्रस्ताव गर्न परराष्टमन्त्री राणालाई योगेश भट्टराईले बुझाए ‘डकुमेन्ट’

फागुन २३, २०८१, शुक्रवार

फागुन २३ गते । प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराईले ताप्लेजुङ–टिप्तल्ला सडक कालोपत्र गर्न चीन सरकारसँग औपचारिक प्रस्ताव गर्नका लागि परराष्ट्र मन्त्री आरजु राणालाई शुक्रबार डकुमेन्ट बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध सिफारिससहितको विवरण समेटिएको ‘डकुमेन्ट’ मन्त्री राणालाई बुझाएका हुन् । पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्ती समेत रहेका भट्टराईले फेसबुकपेजमार्फत उक्त जानकारी गराएका हुन् । भट्टराईले लेखेका छन्,–‘सदरमुकाम–टिप्तला सडक ८४ कि.मी. छ । सडक कालोपत्र र पुल बनाउन आवश्यक छ । उक्त सडक कालोपत्र गर्नका लागि चीनसँग औपचारिक प्रस्ताव गर्न मन्त्री ज्यूसँग अनुरोध गरेको छु । मन्त्री ज्यूले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ सडक विभागका इन्जिनियर कुबेर नेपाली समेत छलफलमा सहभागी थिए ।

प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले प्रशासनले तयार पारेको विवरण विहीवार भट्टराईलाई उपलब्ध गराएको जानकारी दिए । प्रजिअ शर्माले भने,‘हामीले यसअघि नै गृह मन्त्रालयलाई पनि उपलब्ध गराएका थियौ । भौतिक पुर्वाधार मन्त्रालयले पनि माग गरेर परराष्ट्रलाई बुझाईसकेको भन्ने सुनेको छु । माननीय ज्यूहरु पनि लागिपर्नुभएको छ ।’ प्रमूख जिल्ला अधिकारी शर्माको नेतृत्वमा गएको टोली र चीनीया पक्षबिच गत मंसिर २९ गते दुई पक्षिय छलफल भएको थियो । उक्त छलफलमा चीनियाँ पक्षले नेपाल सरकारले चीन सरकारसँग अनुरोध गरेमा टिप्तल्ला–सदरमुकाम सडक कालोपत्र गर्ने वचन दिएको थियो । प्रजिअ शर्माले भने,‘चीनले नेपाल सरकारले माग गरको खण्डमा कालोपत्र गर्ने वचन दिएको छ । त्यही भएर हामीले आफ्नो मन्त्रालयमा जानकारी गराएका हौ ।’ यसअघिका प्रमूख जिल्ला अधिकारीको तिब्बत जाँदाको छलफलमा पनि चीनले सडक कालोपत्र गर्ने वचन दिएको थियो । यद्यपी जिल्लाका राजनीतिक दल र सांसद चुक्दै आएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका अध्यक्ष छेतेन शेर्पा लामाका अनुसार चीनले नै यति धेरै माया गरेर सहयोग गर्छु भन्नु गौरवको कुरा हो । वडाअध्यक्ष छेतेनले भने,‘कालोपत्र गर्ने हतार हामीलाई हुनुपर्ने हो । तर सरकारले त्यति पहल गरेको जस्तो लाग्दैन् । अबचाहिँ केही होला कि †’ हिउँदको बेला सदरमुकाम–टिप्तला भन्ज्याङसम्म गाडी पुग्छ । सवारी चालक रविन गुरुङले भने,‘यो पटक यात्रु लिएर निकै पटक टिप्तला पुगेको छु । तर बाटो मर्मत गर्न अझै जरुरी छ ।’ उद्योग वाणिज्य सँघ ताप्लेजुङ अध्यक्ष नारायण थापाका अनुसार पुल र बाटो स्तरोन्नती गर्न सके बाह्रै महिना गाडी गुड्न सम्भव हुन्छ । अध्यक्ष थापाले भने,‘कालोपत्र भयो भने पर्यटन क्षेत्र फस्टाउँछ नै । व्यापारिक दृश्टिले लाभदायक बन्छ ।’ सिरीजङ्गा गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोसहितको टोली मोटरसाइकल र गाडीमा टिप्तलासम्म पुगेर फर्किएका थिए । तमोरको गर्तिर नै गर्तिरको सडक यात्रा गज्जबको छ । ओलाङचुङगोला–टिप्तला सडक (२४ कि.मी.) ओलाङचुङगोलाबासीले नै रकम जुटाएर बनाएका हुन् । ओलाङचुङगोलामा जन्मिएर देश विदेशमा रहेकाले पैसा संकलन गरेका थिए । चीनले चालक र जेसिबी तथा गाडी उपलब्ध गराएको थियो । यो सडक कालोपत्र भए मोरङको रानी भन्सारदेखि टिप्तला भन्ज्याङ नाका जोड्ने त्रिदेशीय भुगोल जोड्छ ।