setoveda logo
४ वैशाख २०८३, शुक्रवार

टी–२० विश्वकपः भारतले पाकिस्तानलाई हरायो

फागुन ४, २०८२, सोमवार

फागुन ३ गते । आयोजक भारतले टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो । योसँगै भारतले सुपर एटमा स्थान पनि बनाएको छ । पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको पनि सम्भावना भने कायमै छ । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भयो ।

गेटी इमेज

गेटी इमेज

उसका लागि उस्मान खानले ४४ रन बनाउँदा अन्य ब्याट्सम्यान फल्प सावित भए । शादाब खानले १४ रन तथा फहिम अश्रफले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानको इनिङ्स ध्वस्त पार्न जसप्रित बुमराह, हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अक्षर पटेललले दुई–दुई विकेट लिए भने कुलदीप यादव र तिलक वर्माले एक–एक सफलता हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन जोड्यो । इशान किशनले विष्फोटक पारी खेले । ४० बल खेलेका उनले १० चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे ।

यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ तथा तिलक वर्माले २५ रन बनाए । शिवम दुबेले १७ बलमा २७ रनको योगदान दिए । रिंकु सिंह ११ रनमा अविजित रहे । विरामी भएर तेस्रो खेलमा पुनरागमन गरेका अभिषेक शर्मा भने खाता नखोली पभेलियन फर्किए । यस्तै, हार्दिक पाण्ड्या पनि शून्य रनमै आउट भए । बलिङतर्फ पाकिस्तानका सइम अयुवले तीन तथा सलमान अघा, उस्मान तारिक र शाहिन शाह अफ्रिदीले एक–एक विकेट लिए ।