setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सत्तापक्षकै सांसदले मागे लेखा समिति सभापतिको राजीनामा

माघ ९, २०८१, बुधवार

माघ ९ गते । प्रतिपक्षी माओवादी र रास्वपासँगै सत्तारूढ कांग्रेसका सांसदले समेत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । सत्तारूढ दलको सांसद भएको, श्रीमती सहकारी ठगीको अभियुक्त भएको र स्वकीय सचिवमाथि पनि ठगीमा अभियोग लागेको हुनाले पोखरेलले सभापति पदबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनीहरूले माग गरेका हुन् ।

प्रतिनिधिसभाअन्तर्गत लेखा समितिको मंगलबारको बैठकमा सत्तारूढ कांग्रेसका सांसदले सभापतिबाट राजीनामा गर्न पोखरेललाई सुझाव दिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठेको र संसदीय समितिको प्रभावकारितामा नै आँच आइरहेको तर्क गर्दै उनीहरूले राजीनामा दिनुपर्नेमा जोड दिएका थिए ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले सभापतिबाट सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद पोखरेलले लेखा समिति सभापतिबाट राजीनामा गर्नुपर्ने धारणा राखेका थिए । ‘जो शक्तिमा हुन्छ, त्यो निरंकुश हुन सक्छ, त्यसलाई अंकुश लगाउन भनेर सार्वजनिक लेखा समितिको व्यवस्था गरिएको हो,’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्थाअन्तर्गत लेखा समितिको सभापति प्रतिपक्षी दलको हुनुपर्छ ।’ लेखा समिति सभापति सत्ता पक्षले छोडेर प्रतिपक्षलाई दिने विश्वव्यापी चलन पहिलेदेखि नेपालमा तोडिँदै आएको उनले उल्लेख गर्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।

माओवादी सांसद जनार्दन शर्माले सरकारको नेतृत्व गरिरहेको दलको सभापति भएकै कारण लेखा समिति सरकारको छाया बनेको बताए । ‘समितिले सरकारको छायाका रूपमा काम गर्ने हो कि संसद्को सार्वभौम अधिकार प्रयोग गर्ने हो भन्ने प्रश्न खडा भएको छ । लामो समयपछि समिति बैठक सुरु हुँदै छ । हाम्रो अगाडि उजुरीको चाङ छ,’ शर्माले भने, ‘परम्परा के थियो, त्यो पनि हेर्ने र गलत परम्परा थियो भने सच्याउने हो ।’ सभापतिका कारण लेखा समिति बन्दी बनाउन नहुने उनले बताए ।

ई कान्तिपुर