setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सप्तरीको सदा टोलमा हैजा पुष्टि, जनप्रतिनिधिसहित ८० जना बिरामी

कार्तिक १८, २०८२, मङ्गलवार

कार्तिक १८ गते । झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता–५ मा रहेको विपन्नहरूको बस्ती सदा टोलमा हैजा संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधिसहित ८० जना बिरामी रहेकामा सिकिस्त ५ जनालाई अस्पताल भर्ना गरिएको छ । टोलमा एउटै शौचालय छैन भने स्वास्थ्यकर्मीले सबैको दिसा परीक्षणसमेत गरेका छैनन् । अति विपन्न ९० परिवारको बसोबास रहेको उक्त टोलका ३३ वर्षीय बुचन सदाले झाडापखालाबाट आठ दिनको अन्तरमा परिवारका तीन सदस्यलाई गुमाएका छन् ।

सप्तरीको छिन्नमस्ता–५ मा रहेको विपन्नहरूको बस्ती सदा टोल

सप्तरीको छिन्नमस्ता–५ मा रहेको विपन्नहरूको बस्ती सदा टोल

शौचालय नभएकाले टोलका बासिन्दा छेउकै पोखरीको डिल र लुकीछिपी खेतबारीमा शौच गर्छन् । महिलाहरूलाई त शौच गर्न एकाबिहानै उठ्नुपर्ने बाध्यता छ । ‘कहिलेकाहीं उठ्न ढिलो हुँदा झाडी खोज्दै भौतारिनुपर्छ,’ २३ वर्षीया रानी सदा भन्छिन् । बालबालिकाले घर छेउछाउमै शौच गर्छन् । धेरैजसो परिवारका सदस्य भारतको पञ्जाब र मुम्बईमा गएर ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका उनीहरूले आर्थिक अभावका कारण शौचालय बनाउन नसकेको ५० वर्षीय घुरन सदा बताउँछन् ।

वर्षाको पानी निकास नहुँदा खानेपानीका लागि जडान गरिएका तीनमध्ये एउटा चापाकल अझै डुबानमा छ । बाँकी दुई चापाकल पनि हिलाम्य छन् । त्यही चापाकलबाट उनीहरू पानी पिउनेदेखि नुहाउने, लुगा धुने र भाँडा माझ्ने गर्दै आएका छन् । टोलको साँघुरो बाटो हिलाम्य रहँदा हिँड्डुल गर्न समस्या छ । टोलमा झाडापखाला फैलिएर तीन जनाको मृत्यु भइसकेपछि गत शुक्रबार मात्र थाहा पाएको गाउँपालिकाले साबुन, नेल कटर, सेनिटाइजरलगायत सामग्री वितरण गरे पनि सरसफाइ भने अझै गराएको छैन । टोलका ठाउँठाउँमा फोहोर थुपारिँदा दुर्गन्धित छ भने वर्षा रोकिएको दुई दिन भइसक्दा पनि धेरैका आँगन अझै धान रोप्न ठिक्क पारिएको खेतझैं देखिएका छन् । E-kantipur