setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सिन्धुलीबाट हराएका १६ जनाको परिवार पोखरामा फेला

साउन १२, २०८२, सोमवार
तस्बिरः सिधा कुरा

तस्बिरः सिधा कुरा

साउन १३ गते । सिन्धुलीबाट हराएका एकै परिवारका १६ जना पोखरामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार हराएका भनिएका सबै जना सकुशल भेटिएका छन् । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले हराएका भनिएका सिन्धुलीको गोलन्जर गाउँपालिका ६ भण्डा बिप्पर कटेरीका उर्मिला हायुका एकै परिवारका १६ जना नै गगनगौडा भन्ने स्थानमा भेटिएको सिधाकुरालाई बताए । उनीहरु शुक्रबार देखि बेपत्ता भएका थिए। ‘उहाँहरु पोखरामा भेटिनु भएको छ । १६ जना नै सकुशल हुनुहुन्छ । गगनगौडाका दुई जना स्थानीयको घर भाडामा लिएर उहाँहरु सबै जना बस्नु भएको पाइयो’ सूचना अधिकारी पाण्डेले भने ।

प्रहरीले किन घर छोडेको भन्ने प्रश्नमा उनीहरूले विकटता र पहिरोका जोखिमका कारण शहर पसेको बताएको सूचना अधिकारी पाण्डेले बताए । ‘सिन्धुलीमा बिकटताका कारण पहिरोको जोखिम भयो, अस्पताल जान ६ घण्टा हिँड्नु पर्ने, केटाकेटीको पढाई पनि राम्रो भएन । घरमा पनि आगो लाग्यो,’ हायू परिवारको भनाई उदृत गर्दै प्रहरी निरीक्षक पाण्डेले सिधाकुरासँग भने,‘छोराछोरीलाई पढाउन र मजदुरी गरेर सुगम स्थानमा बस्नका लागि गाउँ छोड्ने निर्णयमा पुग्यौँ ।’ चार दिन पहिले नै पोखरा छिरेका उनीहरु गगनगौडामा २ दिन देखि स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भाडामा कोठा लिएर बसेको निरीक्षक पाण्डेले बताए । पौडेलको घरमा ३ वटा कोठा लिएर १२ जना र भण्डारीको घरमा २ ओटा कोठा लिएर ४ जना बसेको उनले बताए । श्रम गर्न भन्दै शहर पसेर भाडामा बसेको भने पछि प्रहरीले उनीहरूलाई सोही घरमा छोडेको र असुरक्षाको अवस्था भए बताउन भनेको कास्की प्रहरीले जनाएको छ । स्थानीय प्रहरी युनिटलाई पनि उनीहरूको रेखदेखका लागि निर्देशन दिइएको कार्यालयले जनाएको छ ।