setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सुकेटारमा चैत २३,२४ र २५ गते छैटौ बज्रगुरु मन्त्रजप

चैत १७, २०८१, आइतवार

चैत १७ गते । जिल्लास्थित सुकेटारमा चैत २३,२४ र २५ गते छैटौ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । यसवर्षको बज्रगुरु मन्त्रजप कार्यक्रममा करिब २० हजार भक्तजन सहभागी हुने आंकलन गरिएको छ । समितिका सचिव पासाङ रिता शेर्पाका अनुसार ताप्लेजुङसहित पाँचथर,तेह्रथुम,इलाम,संखुवासभा,झापा लगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गर्छन् ।

तीन दिन सञ्चालन हुने कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ । प्रत्येक दिन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मन्त्र जप र पुजा कार्यक्रम समावेश छ । चैत २३ गते र २४ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म प्रवचनसहित आगम प्रदान हुनेछ । तीन दिन नै बुद्ध भगवानको अस्तु धातु रिङसेल दर्शन गर्न सकिनेछ । चैत २५ गते प्रमूख अतिथि कुन्दोलिङ ताक्छक रिन्पोछेबाट प्रवचन,श्वेत तारा (सप्तलोचनी) को आयुअभिषेक हुने सचिव शेर्पाले बताए ।

ध्यान साधना गरी मन्त्र जप गर्दा आफ्नो मन शुद्ध हुने सवै प्रकारको पुण्यलाभ प्राप्त हुने विश्वास छ । हृदयदेखि नै गुरु पद्म संम्भवको प्रार्थना गरेमा सबै प्रकारका बाधाहरु समाप्त भई सुख शान्ति मिल्ने जनविश्वास छ । अध्यक्ष फुपु छेम्बे शेर्पाले (थुप्देन जिग्डोल) कार्यक्रममा जो कोही उपस्थित हुन मिल्ने भएकाले सहभागीताका लागि निम्तो गरेका छन् । अध्यक्ष शेर्पाले भने,‘कार्यक्रममा सहभागी हुन निम्तो गर्दछु । आशा छ, सबै मिलेर कार्यक्रम सम्पन्न हुनेमा ढुक्क छौ ।’ गत वर्ष कार्यक्रममा ६८ लाख खर्च भएको थियो । यसवर्ष भने विगतजस्तो खर्च नहुने आयोजकले जनाएको छ । कार्यक्रमस्थल भाडामा लिएर स्टेज निर्माण गरेकाले विगतमा स्टेज निर्माणमा हुने खर्च बचत हुनेछ ।

(नोटः–खाजा वा खाना खुवाउन सौजन्य गर्न चाहनुहुनेका लागि यो लिस्ट हेर्नुहोस ।)