setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सिडियोलाई ज्यान मार्ने धम्की, नो केबलकार पक्ष भन्छ,: हामीमाथि एक्कासी गोली चलायो

माघ १२, २०८१, शनिवार

माघ १२ गते । ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले आफूलाई ‘नो केबलकार’ पक्षले ज्यान मार्ने धम्की दिएको बताएका छन् । शनिबार पाथीभरास्थित बलुडाँडामा नो केबलकार पक्ष र सुरक्षाकर्मीबिच दोहोरो झडप भएपछि आफूलाई ज्यान मार्ने धम्की दिएको शर्माले बताए । प्रजिअ शर्माले भने,‘नानी मादेनले फोन गरेको थियो । तथानाम गाली गर्यो । ज्यान मार्ने धम्की पनि दियो ।’ धम्की दिने र गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

प्रहरी नायव उपरिक्षक रवि रावलले भने,‘बलुडाँडामा हतियारसहित बसेको सूचना पायौ । बुझ्न जाने क्रममा एक्कासी ८०÷९० जनाको समूहले आक्रमण गर्यो । लगत्तै सुरक्षाका लागि अश्रुग्यास प्रहार गर्न प्रहरी बाध्य बन्यो ।’ प्रहरी नायव उपरिक्षक रावलका अनुसार झडपमा ३ जना सशस्त्र प्रहरी र १ जना नेपाल प्रहरी घाइते भएका छन् । नो केबलकार पक्षको ३ थान खुकुरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गलत हर्कत र गैरकानुनी क्रियाकलाप गरेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीलाई ढुङ्गा प्रहार गरेको सुरक्षा निकायले जनाएको छ ।

उता ‘नो केबलकार’ पक्षका श्री लिङ्खिमका अनुसार प्रहरीले अन्याय गरेको छ । मुक्कुमलुङ संरक्षण संघर्ष समितिका संयोजक समेत रहेका लिङ्खिमले प्रहरीले आफूहरुलाई लातीले हान्ने र फायर खोल्ने काम गरेको बताए । लिङ्खिमले थपे,‘हामी शान्तिपूर्ण कार्यक्रम गर्ने योजनामा थियौ । तर प्रहरीले एक्कासी दमन गर्यो ।’ नो केबलकार पक्षका डम्बर पालुङ्वाका अनुसार प्रहरीले आफूहरुमाथि वाइयात आरोप लगाएको बताए । पालुङ्वाले भने,‘हामी जम्बो डाँडामा कार्यक्रम योजना बनाउन छलफलमा थियौ । तल बलुडाँडामा प्रहरीले फायर खोल्यो ।’ उनका अनुसार प्रहरीले २० राउण्ड गोली फायर गरेको थियो । प्रहरीले चलाएको रवरको गोली लागेर एक जना घाइते भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । विशाल श्रेङ लिम्बुको कुममा रवरको गोली लागेको तस्बिरसहित विवरण पोस्ट गरेको छ । उनले भने,‘शान्तिपूर्ण कार्यक्रम गर्न प्रहरीले अवरोध गर्यो । मानव अधिकारको हनन गरेको छ । अब कसले बोलिदिन्छ ?’ झडप हुनुमा दुवै पक्षले एक अर्कामाथि आरोप लगाएको छ । पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदै आएको छ । कम्पनीले केबलकार बनाउने बटम स्टेशनमा जेसीबी लगाएर जमिन सम्याउने काम मंगलबारबाट सुरु गरेको छ । केबलकार बनाउन हुन्छ र हुँदैन भनि विभाजित दुवै पक्षले संयमता अपनाउनुपर्ने खाँचो औल्याइएको छ ।