setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

साउन २६, २०८२, सोमवार

साउन २६ गते । सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण एक सातामै ६३ जनाको ज्यान गएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन् । आधिकारिक विवरणअनुसार, यो संख्या केवल अस्पतालसम्म पुर्‍याइएका बिरामीहरूमात्र हो । कमजोर सुरक्षाका कारण र सवारीसाधन नहुँदा थुप्रै परिवारले आफ्ना मृत आफन्तलाई उपचार नदिई गाडेका छन् ।

सुडान

सुडान

गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल ९आरएसएफ० को घेराबन्दीमा परेको छ । सो समूह सुडानको नियमित सेनासँग विसं २०८० को वैशाखदेखि युद्धरत छ । एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूला सहरहरूमध्ये एक हो । राजधानीबाट फिर्ता भएपछि सो समूहले हालै फेरि आक्रमण बढाएको छ । गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि दसौं हजार व्यक्ति पुनः विस्थापित भएर एल–फाशेरमै शरण लिन बाध्य भएका छन् । एक समय जीवनरक्षक मानिएका सामूहिक भान्साघरहरू खाद्यान्न अभावका कारण बन्द भइसकेका छन् । केही परिवार पशुचौपायालाई दिने घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन् भन्ने खबर आएको छ ।