setoveda logo
४ वैशाख २०८३, शुक्रवार

राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती,कोशी प्रदेशमा सार्वजनिक विदा

कार्तिक २५, २०८२, मङ्गलवार
ताप्लेजुङको तोक्मेडाँडामा  १६औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङदेनको सालिक

ताप्लेजुङको तोक्मेडाँडामा १६औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङदेनको सालिक

कार्तिक २५ गते । कोशी प्रदेशका ताप्लेजुङसहित विभिन्न जिल्लामा मंगलबार १६औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङदेनको १४१औं जन्मजयन्ती मनाईँदैछ । किँरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा समेत दिएको छ । मुहिङगुम अङसिमाङ फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा सदरमुकामस्थित किँरात हाङ्साम माङहिमको प्राङगणमा दिउँसो साढे १२ बजेदेखि कार्यक्रम आयोजना गरेको छ ।

विश्व शान्ति,मानव एकता, सकल प्राणी,प्राकृतिक भूगर्भ चराचरको रक्षात्मक र सिद्धी शक्ति प्राप्त कर्मका लागि येत नाम्धुङ लाधुङ सेमिसेवा महा अष्टम यज्ञसेवासहित कार्यक्रम तय गरिएको सचिव सरोज कङलिवाले जानकारी दिए । किँरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङको आयोजनामा विहान १० बजे कभर्ड हलमा भेला भएर र्याली समेत निकालिने भएको छ । सचिव कङलिवाले भने,‘कबर्डहलबाट र्यालीसहित बजार परिक्रमा गरेर कार्यक्रमस्थल पुग्छौ । पुजासँगै महागुरुको योगदानको स्मरण र चर्चा गर्नेछौ ।’ अध्यक्ष कर्ण पालुङ्वाका अनुसार २३ गते नै माङ्हिम सजिसजावटको काम सकिएको छ । २४ गते गाली सराप बहन्ती अर्थात साक्मुरा वादुम्मा गरिएको छ ।

२५ कात्तिक विसं १९४२ मा इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई १६ मंसिर २०६६ मा सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।