setoveda logo
४ वैशाख २०८३, शुक्रवार

रास्वपाको उम्मेदवार हुनका लागि आवश्यक केही मापदण्ड सार्वजनिक

कार्तिक २३, २०८२, आइतवार

कात्तिक २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ । देशभरबाट झन्डै पाँच सय प्रतिनिधि सहभागी रहेको अस्ति र हिजोको दुई दिने बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ । बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, जनजीविका, आउँदो प्रतिनिधिसभा चुनाव, पार्टीबाट उम्मेदवार हुन आवश्यक मापदण्ड तथा पार्टीको आन्तरिक रुपान्तरणबारे छलफल भएको प्रवक्ता मनिष झाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक 

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक 

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सह–महामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकले आउँदो फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । साथै, विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ । साथै उम्मेदवार हुनका लागि केही मापदण्ड पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत २०७९ को प्रतिनिधिसभामा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका पार्टीका सदस्यले यही फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था पनि गरेको उल्लेख छ ।