असार १५ गते । राष्ट्रपतिको दुई कार्यकाल सकेर शीलतनिवासबाट बाहिरिएको दुई वर्ष साढे तीन महिनापछि विद्यादेवी भण्डारीले शनिबार पार्टी राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन् । केपी शर्मा ओली एमालेको नेतृत्वमा निर्विकल्प जस्तै बनिरहेका बेला भण्डारीको सक्रिय राजनीतिमा प्रवेश घोषणाले एमालेमा हलचल भएको छ । विधान महाधिवेशनको संघारमा भएको घोषणाले दुई कित्ताबीचको शक्ति संघर्ष फेरि सुरु हुने संकेत देखिएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली
ओलीको कार्यशैलीमाथि प्रश्न उठाएरै भदौ ०७८ मा नेता माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । नेपालले एस स्थापना गरेपछि र असन्तुष्ट नेता भीम रावल निष्कासनमा परेपछि ओलीलाई चुनौती दिन सक्ने नेता देखिएका छैनन् । मदन भण्डारीको ७६औं जयन्तीका अवसर पारेर उनकै नाममा स्थापित फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिलाई निरन्तरता दिने औपचारिक उद्घोष गरिरहँदा त्यही कार्यक्रमका प्रमुख अतिथि बनाइएका प्रधानमन्त्री ओली भने हिँडिसकेका थिए ।
स्पेन भ्रमणको हतारो देखाएर सुरुमा मन्तव्य राखेर ओली बाहिरिएका थिए । ओलीपछि बोलेकी भण्डारीले सबै वस्तुस्थितिको विश्लेषणका साथ आफू सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गर्दा उपस्थित एमाले पंक्तिले गडगडाहट ताली बजाएर स्वागत गरेको थियो । ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीति यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले ‘जबजको तीन दशक’ शीर्षकको बहस कार्यक्रममा भनिन्, ‘अब म एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्छॅ ।’
उनले एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्त्वाकांक्षा नभएको बताइन् । महाधिवेशको संघारमा सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरे पनि ‘विशिष्ट महत्त्वांकाक्षा नभएको’ भन्ने अभिव्यक्तिले उनी नेतृत्वमा आउने वा नआउने भन्नेबारे प्रस्ट भएको छैन । तर, उनी निकट नेताहरू पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने विधानमा व्यवस्था गराएर भण्डारीले ओलीलाई रोक्न चाहेको दाबी गर्छन् । E- Kantipur