फागुन ६ गते । केबलकारको पक्षमा वकालत गर्दै आएका पदम चेन्जी माबोल भने,‘केबलकारका लागि ज्यान दिन तयार छु । किनकी केबलकार जिल्लाबासीको भाग्य र भविष्य जोडिएको छ । जसरी भएपनि बनाउनै पर्छ ।’ ताप्लेजुङ सदरमुकामस्थित विरेन्द्रचोकमा मंगलबार आयोजित र्यालीलाई सम्बोधन गर्दै माबोले केबलकारका लागि ज्यान समेत दिन तयार रहेको बताए ।
केबलकारको पक्षमा निकालिएको र्यालीमा सहभागीले मन्तव्य राख्नुअघि खादा लगाएर सम्मान समेत गरे । लगत्तै मनतव्य सुरु गरेका माबोले भने,‘यस केबलकार । यस केबलकार । यस केबलकार ।’ माबोले ‘यस केबलकार’ भन्दा सहभागीले स्वर मिलाएर ‘यस केबलकार’ भन्दै साथ दिए । नगरप्रमूख अमिर मादेन,निर्माण व्यवसायी इन्द्र केदेम लगायत सहभागीले खादा लगाउँदा नौमती बाजा समेत बजाएका थिए ।
फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले केबलकारको विपक्षमा रहेकाले पदयात्रा गर्ने तयारी गरेको भन्दै शुभकामना दिए । मादेनले भने,‘पदयात्रा गर्न बाहिरबाट आएको थाहा छ । आशा छ, हिडेपछिको सास्तीपश्चात केबलकार चाहिन्छ नै भन्नुहुनेछ ।’ फुङलिङ नगरपालिका–७ का पूर्व वडा सदस्य डम्बर पालुङवाको चर्को आलोचना गरे ।
२०७४ को स्थानिय तह चुनावमा पालुङवा वडा सदस्यमा निर्वाचित भएका थिए । पूर्व नगरप्रमूख छत्रपति प्याकुरेलको कार्यकालमा केबलकारको अनुमति दिएको बेला पालुङवाले पनि हस्ताक्षर गरेको दावी गरे । मादेनले भने,‘डम्बर जी आफैले केबलकार चाहिन्छ भनेर हस्ताक्षर गरेको माइनट छ । फेरि अहिले किन केबलकार पक्षलाई ढुङगा हान्न र आन्दोलन गर्न चाहनुहुन्छ । थाहा छैन् ।’
स्थानिय मीना गुरुङले अशक्तले पनि माताको दर्शन गर्न पाउनुपर्ने बताए । भगवान कसैको पनि पेवा नहुने भन्दै गुरुङले केबलकार बने थोरै समय र कम खर्चमा पाथीभराको दर्शन सम्भव हुने बताए । सामुदायिक हलबाट निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो । च्याब्रुङ र नौमति बाजासहित प्लेकार्ड बोकेर सहभागी बनेँ । केबलकारको महत्व झल्काउने नारा प्लेकार्डमा लेखिएको थियो ।