setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पाथीभरासहित ओलाङचुङगोला र घुन्सामा हिमपात

फागुन ४, २०८१, आइतवार

फागुन ४ गते । जिल्लाको पाथीभरा क्षेत्र र ओलाङचुङगोला, घुन्सासहित माथिल्लो क्षेत्रमा गएरातीदेखि हिमपात सुरु भएको छ । सदरमुकामसहित तल्लो क्षेत्र हुस्सुले ढाकेको छ । पाथीभरास्थित ठूलो फेदिमा परेको हिउँ र मन्दिर दर्शन गरेर फर्कने दर्शनार्थीको दृश्य सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।

ठूलोफेदिका राजेन्द्र महतले भने,‘ठूलोफेदिमा यतिका हिउँ परेको छ । माथि मन्दिरमा निकै बाक्लो हिउँ परेको हुनुपर्छ ।’ ३,७९४मी. उचाईमा अवस्थित पाथीभरामा यस पटक बाक्लो हिउँ पर्न सकेको थिएन् । हिउँ परेसँगै चिसो बढेको छ ।

दर्शनार्थीलाई दर्शनमा आउँदा न्यानो कपडा लगाउन पाथीभरा क्षेत्र विकास समितिले अनुरोध गरेको छ । कार्यकारी निर्देशक प्रजिन हाङवाङले भने,‘हिउँ छल्न हातमा पन्जा,खुटामा बाक्लो मोजा र शरिर न्यानो राख्न मिल्ने कपडा लगाउँदा राम्रो हुन्छ । पैदलमार्गमा हिउँ हुन्छ । सावधानी अपनाएर हिड्नु पर्छ ।’

उता ओलाङचुङगोलामा माघ २६ गते हिउँ परेको थियो । सवारी धनी रविन गुरुङका अनुसार गोलामा पहिलेजस्तो हिउँ परेको छैन् । ओलाङचुङगोलामा हिउँ पर्दा घरको छानो थिचिएर छानो नै झर्नेगरि हिउँ पर्छ ।

तस्बिरः राजेन्द्र महत