setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पाथीभरामा विहानै रुख कटान, नो केबलकार समूहको आक्रोश

माघ ३०, २०८१, बुधवार

पाथीभरामा विहानै रुख कटान, नो केबलकार समूहको आक्रोश

माघ ३० गते । पाथीभरामा केबलकार निर्माणका लागि बुधबार (माघ ३० गते) रुख कटान गरेको छ । रुखहरु विहानैदेखि कटान गरेको हो । केबलकार निर्माणका लागि कटान गर्न बाँकी रुखहरु काटिएको पाथीभरा÷मुक्कमलुङ दर्शन केबलकार प्रालिले जनाएको छ । गत जेठमा पनि एकाविहानै रुख कटान गरेको थियो । निर्माण कम्पनी हिमालय कन्ट्रक्सनका अनुसार कटान आदेशबमोजिमका रुखहरु मात्र कटान गरेको हो । केदेमले भने,‘अबको केहीबेरमा कटान सक्छौ । कटानको अधिकाँश काम पहिले सकेको थियो ।’ वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार पन्ध्र इन्चसम्मको १ हजार ९ सय पाँच वटा रुख कटान हुन्छ । २०७ वटा ठूलो रुख कटान हुन्छ । जम्मा २ हजार १ सय १४ वटा ठूला साना रुख कटान हुन्छ । स– साना बुट्यान समेत कटान हुन्छ । यद्यपी कटान गरेको रुखले अरु थुप्रै रुखहरुमा क्षति गरेको छ । भिर र चट्टानमा मुश्किलले हुर्किएका रुखहरु कटान भएका हुन् ।

बटमस्टेशनदेखि ल्यान्डीङ स्टेशनसम्मको दुरी २ हजार ७ सय मिटर छ । कम्पनीका अनुसार उक्त क्षेत्रमा १३ वटा पोल अर्थात टावर बन्छ । उक्त टावरमा ३८ वटा केबलकार डिब्बा बस्छ । जसलाई गोण्डोलाज समेत भनिन्छ । २ वटा भने मन्दिर क्षेत्रको फोहोर झार्न र सामान बोक्न प्रयोग गरिने कम्पनीले जनाएको छ । ८ जना यात्रु बोक्न मिल्ने मोनो केबलकारले प्रतिघण्टा १ हजार जना तिर्थयात्रीलाई पाथीभरामा पुर्याउने छ । मन्दिरको दर्शन गर्न करिब ८ सय मिटर पैदल हिड्नुपर्छ । मन्दिरभित्र कुनै पनि संरचना बन्ने छैन् । तिर्थयात्री कक्ष,शौच र चिसो तथा तातो पानी पिउन र अशक्त तथा विरामी बस्न मिल्ने आवश्यक संरचना मात्र बन्नेछ । पुरानो डिपीआरमा होटल संरचना समेत थियो । तर नो केबलकार समूहको माग र आन्दोलन तथा स्थानियबासीको समेत असन्तुष्टिका कारण होटल संरचना हटाउन केबलकार कम्पनी बाध्य भएको हो । कम्पनीका रुद्र पौडेलका अनुसार ३ अब लागत छ । तीमध्ये स्थानियलाई अधिकतम शेयर प्रदान गर्ने उल्लेख गरेको छ । स्थानिय र जिल्लाबासीलाई दिइने शेयर र रोजगारीको विषयमा मसिनोगरि छलफल हुन सकेको छैन् ।

केबलकार फुङलिङ नगरपालिका ११ फावाखोलामा बट स्टेशनको काम अहिले पनि धमाधम भइरहेको छ । गत माघ १२ गते दुवैपक्षबिच झडप भएको भोलिपल्ट एक दिन मात्र काम रोकिएको थियो । आन्दोलन,वार्ता,यातायात बन्द र निर्माण काम यथावत थियो ।

यता आन्दोलनरत नो केबलकार समूह र पहिचान पक्षधरले सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि जनाएको छ । काम रोकेर बार्ता गर्नुको सटा पेलेरै काम गरेको भन्दै तिव्र असन्तुष्टि जनाएको हो । नो केबलकार समूहका नेतृत्वकर्तामध्येका एक नविन पोमूका अनुसार राज्यले दमनको नीति लिएको भन्दै आक्रोश पोखे । पोमूले भने,‘सुरक्षाकर्मी राखेर विकास हुँदैन् । बरु त्रास हुन्छ ।’ मुक्कुमलुङ संयूक्त संघर्ष समिति र केबलकार खारेजी संयूक्त संघर्ष समितिको मुख्य माग नै केबलकार खारेजी हो । केबलकार खारेजीका लागि पहिचान पक्षधर दलहरु समेत जोडिएका छन् । तर वार्ता र आन्दोलनमा स्थानियभन्दा बाहिरका बासिन्दा हाबी भएको भन्दै सरकारले त्यति महत्व नदिएको जानकारको भनाई छ । नो केबलकार समूहले केबलकारको विरुद्धमा आन्दोलन र प्रदर्शन गर्दै आएको छ । गत माघ १२ गतेको झडपमा २ जनालाई गोली नै लागेको थियो । बाँकी ३ जना गंम्भिर घाइते भए । तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । घाइतेहरुको अझैपनि उपचार जारी छ । पक्राउ परेकाहरु भने रिहा भएका छन् । ताप्लेजुङ वाहेक पाँचथर,इलाम,झापा,तेह्रथुमदेखि काठमाडौसम्म आन्दोलनका कार्यक्रम भएका छन् ।