पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको आ.व. २०८१/८२ दर्शनार्थी संख्या र भेटी संकलन विवरण ।
साउन १ गते । जिल्लास्थित पाथीभरा मन्दिरमा आ.व. २०८१/८२ मा २ लाख १७ हजार ८ सय ८६ जनाले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले असार ३२ गते सार्वजनकि गरेको तथ्याङकमा देश विदेशबाट दर्शनमा आएका दर्शनार्थीको संख्या सार्वजनिक गरेको हो । सबैभन्दा बढि कार्तिकमा ६१ हजार १ सय ७३ जनाले दर्शन गरेको तथ्याङ छ । सबैभन्दा कम साउन महिनामा १ हजार ९ सय ५५ जनाले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार असोज –कार्तिक र चैत–बैसाखमा बढि दर्शनार्थी आउँछन् । कार्यकारी निर्देशक हाङवाङले भने,‘ठूलो फेदिमा दर्शनार्थीको तथ्याङ संकलन गर्छौ । यद्यपी १० प्रतिशत दर्शनार्थीको तथ्यांक छुट हुन सक्छ ।’ पाथीभरामा जुनसुकै बेला दर्शन गर्न सम्भव छ । त्यही भएर एकाविहानै दर्शनमा गएका दर्शनार्थीको संख्या टिपोट गर्न छुट्ने संम्भावना हुन्छ । आ.व. २०८०/८१ मा २ लाख ३१ हजार ३ सय ३४ जनाले दर्शन गरेका थिए ।
यसैबिच पाथीभरामा चालु आ.व. २०८१/८२ मा ३ करोड ११ लाख ६४ हजार ७ सय ७६ रुपैयाँ भेटी संकलन भएको छ । आ.व. २०८०/८१ मा ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपैयाँ संकलन भएको थियो । कार्यकारी निर्देशक हाङवाङका अनुसार आ.व. २०८०/८१ भारतीय रुपैयाँ र ५ र १० को नोट सटही गरेकाले बढि संकलन भएको तथ्यांक हो । समितिका अध्यक्ष रक्की थेबेका अनुसार भेटी र गरगहना संकलन र बैंक जम्मा गर्ने काम संम्भव भएसम्म चाँडो गर्ने गरिएको छ ।