माघ १५ गते । जिल्लाको पाथीभरास्थित बलुडाँडामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरेको ‘नो केबलकार समूह’ का अगुवा मध्येका एक प्रदीप मादेन (नानी) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
तस्बिर प्रदीप मादेनको फेसबुकबाट साभार
प्रहरीले सदरमुकामस्थित फुङलिङको कोप्चेलाइनबाट पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले बताए । गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मादेनलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ प्रहरी नायव उपरीक्षक डीएसपी रवि रावलले भने, ‘प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्की दिएका थिए । १२ गतेको हुलहुज्जतको नेतृत्व गर्ने मध्ये मादेन पनि हुन् ।’ उनी पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन् । पाथीभरा केबलकार खारेजी, पक्राउ परेका कार्यकर्ता रिहा लगायतको माग राख्तै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाले मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चित यातायात बन्दको आव्हान गरेका छन् । मेची राजमार्गमा पाँचथर, इलामदेखि झापाको चारआली तथा तमोर करिडोरमा पाँचथर, धनकुटाको मूलघाटसम्म पर्छ । यो सडक भेडेटार हुँदै धरान जोडिन्छ । यातायातका साधन ठप्प हुने भएकाले कतिपय सवारी साधन गयराती अबेरसम्म गुडेको थियो ।